राजनीति

एमालेले १० बुँदे सहमित कार्यान्वयनमा लैजाने, माधव नेपाल के गर्लान ?

नेकपा (एमाले) ले पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कार्यदलमा सहभागी रहेका एकता पक्षधर नेताबीच आइतबार बालकोटमा भएको छलफलमा कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको हो ।

सहमति कार्यान्वयनका लागि भोलि मङ्गलबार पार्टीको स्थायी कमिटीको बैठक आह्वान गरिएको छ । ओली निवास बालकोटमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचिव प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव कार्यान्वयनमा आइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “असार २७ गते कार्यदलको तर्फबाट गरिएको १० बुँदे प्रस्ताव कार्यान्वयनको प्रक्रिया शुरु भइसकेको छ, यसलाई थप कार्यान्वयनमा लैजान भोलि ११ बजे पार्टी स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय भएको छ, भोलिको बैठकबाट पार्टी एकतामा देखापरेका केही समस्या समाधान हुने र पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास लिएका छौँ ।”

विसं २०७५ जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीलाई क्रियाशील बनाइने भएको छ । उहाँले जेठ २ को बैठकको निरन्तरता साउन १ गते बैठक बसेको बताउँदै त्यस बैठकमा सहभागी नहुने नेता पनि भोलिको बैठकमा सहभागी भएपछि जेठ २ अगाडिकै संरचनामा पार्टी अगाडि बढ्ने बताउनुभयो ।

“माधव नेपालले अर्कै बाटो तय गरिसक्नु भएको छ, उहाँले पार्टी नै दर्ता गरिसक्नु भएको अवस्थामा उहाँ एकतामा फर्कनु हुन्छ भन्ने विश्वास कसरी गर्न सकिन्छ र ?,” एमाले सचिव ज्ञवालीले भन्नुभयो, “हामी दल दर्ता प्रक्रियामा रहेका साथीलाई फर्केर आउनुस् र आफ्नै पुरानै जिम्मेवारी सम्हाल्नुस् भनेका छौं, विभाजनमा नजानु भएका साथीले पुरानै जिम्मेवारी सम्हाल्नु हुन्छ, बैठकमा पनि त्यही छलफल भयो ।” उहाँले दल दर्ता प्रक्रिया रोकेर पार्टीमा फर्कनुभयो भने फेरि पनि पार्टीमा ठाउँ दिन सकिने बारेमा बैठकमा छलफल भएको उहाँको भनाइ छ ।

ओली निवासमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका नेता योगेश भट्टराईले नेता माधवकुमार नेपाल हतारिएर नयाँ दल दर्तामा गएको बताउनुभयो । नेता नेपाल आफूसँग रहेका केन्द्रीय कमिटीका सदस्यसँगको भेलाको ‘म्याण्डेट’ भन्दा बाहिर गएर आफू पक्षीय केन्द्रीय कमिटी र स्थायी कमिटी सदस्यसँग छलफल नै नगरी हतारमा पार्टी विभाजनको निर्णय लिएको बताउनुभयो । उहाँले अझै दुईदिन नेता नेपालसँग भेटेर एमालेमै फर्काउन पहल गर्ने बताउनुभयो ।

पार्टी अध्यक्ष ओलीले पार्टीमा सबैलाई समान व्यवहार गर्ने, पुराना जिम्मेवारीलाई यथावत राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको बताउदै नेता भट्टराईले पार्टी बिभाजन र दल दर्तालाई रोकेर फर्केर आएमा १४ जना माथि भएको कारबाहीलाई रोक्न सकिने प्रतिबद्धता आएकाले एकताको प्रयास जारी रहने बताउनुभयो ।

नेता भट्टराईले २०७५ जेठ २ गते कायम भएको नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोलसम्मका सम्पूर्ण कमिटी क्रियाशील गर्ने सहमति भएको भन्दै ती कमिटी कसरी क्रियाशील हुन्छन् भनेर भोलि बस्ने स्थायी कमिटीले सबै ढाँचा तयार पार्ने बताउनुभयो ।

बालकोटमा ओलीसँगै महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल, भीम रावल, घनश्याम भुसाल, युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.