राजनीति

ओली सरकारको अबरोधका कारण विकासले गति लिन सकेन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा उहाँले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताउनुभयो ।

कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसके पनि पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका वर्षहरुमा कोरोना महामारी र यसअघिको सरकारको अवरोधका कारण विकासले गति लिन सकेन ।” माडीको विकासमा निकुञ्ज ऐन बाधक रहेको भन्दै उहाँले त्यसलाई समयसापेक्ष बनाउने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

माडीको विकास र समृद्धि बिना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने जनाउँदै उहाँले चितवनलाई देशकै विकासको मोडेल बनाएर लागू गर्ने सङ्कल्प आफ्नो रहेको बताउनुभयो ।

बाँदरझुला र माडीका भूमिहीन सुकुम्बासीको जग्गा नाप्ने काम तीन दिनभित्र सुरु हुने उहाँको भनाइ छ । नापजाँच सकिएसँगै जग्गाधनी पुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणको क्षेत्रमा माडीमा ठूलो क्रान्ति भएको जनाउँदै उहाँले माडीको विकास बिना चितवनको समृद्धिको सपना साकार नहुने बताउनुभयो ।

उहाँले माडी नगरपालिका वडा नं ५ र ६ जोड्ने रतनी खोला पुलको उद्घाटन, १२ किलोमिटर लामो बरुवा बजार–भैरवपुर–पर्साचोक–बैदार सिम्रेनी–गङ्गटे सडक शिलान्यास, टम्टा खोला तटबन्धको शिलान्यास गर्नुभयो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादवले माडीका जनताको समस्या विकाराल रहेको भन्दै समाधान गर्न हरदम प्रयत्न गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निकुञ्ज हाम्रो गहना हो, यसको संरक्षणसँगै वरपरका नागरिकको समस्या हल गर्दै अगाडि बढ्नुको विकल्प छैन ।” मन्त्री यादवले भरतपुर–माडी–ठोरी हुलाकी सडकमा ठाउँठाउँमा समस्या रहेको भन्दै निकास खोज्ने बताउनुभयो ।

भौतिक योजना तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले माडी क्षेत्रको विकासका लागि बजेट प्राथमिकतामा राखिएको बताउनुभयो । माडीका नगर प्रमुख ताराकुमारी काजी महतोले माडीमा बितेका पाँच वर्षमा विकासले तीव्रता पाएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.