जन सरोकार

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्म : विपत्तिमा तीन दशकदेखिको सारथि

गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावले अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे ।

गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति रु १० जम्मा गर्न थाले । तीन दशकअघि रु १० बाट सुरु भएको त्यही अभियान अहिले ३७७ सक्रिय सदस्य रहेको संस्थाका रूपमा विस्तार भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–७ सरस्वती टोल स्थित ‘सामूहिक उद्धार तथा उपकार सङ्घ’को यो यात्रा केवल एउटा सामाजिक संस्थाको विस्तारको कथा होइन, विपत्तिमा परेको परिवारलाई समुदायले कसरी साथ दिनसक्छ भन्ने उदाहरण पनि हो । सानो सहयोगबाट सुरु भएको अभियान अहिले आफ्नै भवन, सामाजिक सेवा र नयाँ पूर्वाधार निर्माणको योजनासम्म आइपुगेको छ ।

विसं २०५० तिर खसीहट्टे टोलबाट यो अभियान सुरु भएको थियो । गाउँका अगुवा पूर्णप्रसाद सिटौलाको नेतृत्वमा सुरु भएको तत्कालीन ‘दैवी प्रकोप उद्धार समिति’ नै अहिलेको ‘सामूहिक उद्धार तथा उपकार सङ्घ’को आधार हो ।

त्यतिबेला गाउँमा कसैको मृत्यु हुँदा आर्थिक रूपमा विपन्न परिवारलाई मृत्यु संस्कार गर्न समस्या हुने गरेको थियो । त्यही अवस्था देखेर तत्कालीन १५ वर्षीय योगेश खपाङ्गीले गाउँमा सामूहिक रूपमा सहयोग गर्ने सोच बनाउनुभयो ।

“गरिब तथा विपन्न कसैको मृत्यु हुँदा परिवारले आर्थिक अभावमा मृत्युकर्म गर्न नसकेर तड्पिएको मैले खप्नै सकिनँ”, सङ्घका संस्थापक सचिव खपाङ्गीले पुराना दिन सम्झँदै भन्नुभयो, “मृत्यु पनि मान्छेपिच्छे किन फरक भयो होला भन्ने कुरा दिमागमा खेलिरह्यो । यो असमानता हटाउन आफ्नो ठाउँबाट सकेको पहल गर्नुपर्छ भनेर गाउँका अगुवा पूर्णप्रसाद सिटौलासमक्ष प्रस्ताव राखेको थिएँ ।”

खपाङ्गीका अनुसार सिटौला गाउँका भद्रभलाद्मी तथा गन्यमान्य व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँ पञ्चायतकालीन जनप्रतिनिधि हुनुहुन्थ्यो । सामाजिक सेवाभावले भरिपूर्ण उहाँले खपाङ्गीको प्रस्तावलाई सहर्ष स्वीकार गर्नुभयो । त्यसपछि गाउँका मानिसलाई बोलाएर बैठक राखियो र सामूहिक सहयोगको अभियान विधिवत् रूपमा सुरु भयो ।

“अहिले उहाँ बितेर जानुभयो । तर त्यो समय अझै ताजै लाग्छ”, खपाङ्गीले भन्नुभयो, “मैले नै उहाँलाई गाउँमा सबै मिलेर यसो गरौँ भनेर प्रस्ताव लगेको थिएँ । उहाँले सहर्ष स्वीकार गर्नुभयो र गाउँका सबै मानिसलाई बोलाएर बैठक गरी विधिवत् रूपमा सुरु गरियो ।”

दश रुपैयाँको बाकसबाट सुरु भयो सहयोग

समिति गठन भएपछि गाउँमा कसैको मृत्यु हुँदा मृतकको घरमा एउटा बाकस राख्ने व्यवस्था गरियो । वडाभरिका मानिसले अनिवार्य रूपमा प्रतिव्यक्ति रु १० सहयोग गर्नुपर्ने नियम बनाइयो । त्यतिबेला त्यो रकम पनि सामान्य थिएन ।

मृत्यु संस्कारको १३औँ दिन सङ्कलित रकम मृतकको परिवारलाई हस्तान्तरण गर्ने चलन बसालियो । थोरैथोरै रकम धेरै व्यक्तिबाट सङ्कलन गर्दा दुःखमा परेको परिवारलाई राहत पुग्न थाल्यो ।

यसले गाउँमा सकारात्मक प्रभाव पार्यो । आर्थिक अभावकै कारण मृत्यु संस्कारमा समस्या भोग्नुपरेका परिवारले समुदायको साथ पाउन थाले । अभियानप्रति विश्वास बढ्दै गएपछि यो अभ्यास विस्तारै लोकप्रिय बन्यो ।

दश रुपैयाँको बाकसबाट सुरु भएको सहयोगले विस्तारै गाउँमा आपसी सहकार्यको संस्कार नै विकास गर्न थाल्यो । “सुरुमा मृत्यु संस्कारका लागि आर्थिक सहयोग गर्ने उद्देश्य थियो, तर पछि यसले गाउँका मानिसलाई दुःखसुखमा एकअर्काका साथमा उभिनुपर्छ भन्ने भावना विकास गरायो”, सङ्घका सचिव कुलप्रसाद उप्रेती भन्नुहुन्छ ।

समितिले मृत्यु संस्कारमा सहयोग गर्ने काममा मात्र आफूलाई सीमित राखेन । गाउँघरमा हुने झैझगडा मिलाउने, सामूहिक छलफल गर्ने तथा टोलका अमिल्दा र अपहेलित नाम मिलाउने काम गर्न थाल्यो । त्यसपछि उक्त समिति गाउँको सामाजिक सहकार्यको साझा थलोका रूपमा स्थापित हुँदै गयो ।

समय बित्दै जाँदा कतिपय आर्थिक रूपमा सक्षम परिवारले आफ्नो घरमा कसैको मृत्यु हुँदा उठेको रकम परिवारले नलिई संस्थाकै नाममा राख्न थाले । यसरी सङ्कलित रकम बचत हुँदै गएपछि संस्थाको कोष निर्माण हुन थाल्यो ।

“कतिपय आर्थिक रूपमा सक्षम परिवारले आफ्नो घरमा मृत्यु हुँदा उठेको रकम संस्थाकै नाममा राख्न थाल्नुभयो”, संस्थाका सचिव उप्रेतीले भन्नुभयो, “यसरी रकम बचत हुँदै गएपछि संस्थाले सामाजिक कामलाई थप विस्तार गर्न सक्ने अवस्था बन्यो ।”

रकमको पारदर्शिताका लागि संस्थाको नाममा बैंक खाता खोली कोष सञ्चालन गरियो । विसं २०६८ मा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरियो । त्यही दर्ता प्रक्रियामा संस्थाको नाम फेरियो ।

चन्दा र दानबाट आफ्नै भवन

संस्थाले गाउँमा पुराण लगाउने तथा चन्दा सङ्कलन गर्ने काम अघि बढायो । त्यसबाट प्राप्त रकमबाट केही जग्गा खरिद गरियो भने केही जग्गा दानबाट प्राप्त भयो । भवन निर्माणका लागि देश तथा विदेशमा रहेका शुभेच्छुकबाट सहयोग जुटाइएको संस्थाले जनाएको छ ।

विसं २०६७ मा संस्थाको आफ्नै भवन निर्माण भयो । दुईतले भवनको तल्लो भागमा हल रहेको छ, जहाँ बिहान योगा सञ्चालन हुँदै आएको छ । माथिल्लो तलामा मृत्युकर्मलगायत धार्मिक तथा सामाजिककार्य हुँदै आएका छन् ।

विवाह, व्रतबन्धलगायतका संस्कारका लागि भवन प्रयोग गर्न सकिने व्यवस्था छ । विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका लागि भवन निःशुल्क उपलब्ध गराइन्छ । आर्थिक रूपमा सक्षम परिवारलाई भने दैनिक रु ५०० भाडा लिने गरिएको सचिव उप्रेतीले बताउनुभयो ।

उहाँका अनुसार शव उठाउने खर्च जुटाउन नसक्ने परिवारलाई संस्थाले सहयोग गर्दै आएको छ । ज्येष्ठ नागरिक सम्मान, सामूहिक छलफल तथा सामाजिक विवाद समाधानमा संस्थाले सहजीकरण गर्दै आएको छ । अहिले मृतकको परिवारका लागि प्रतिव्यक्ति रु ५० सहयोग सङ्कलन गरिन्छ भने संस्थामा ३७७ सक्रिय सदस्य छन् ।

दश कठ्ठा जग्गामा अखण्ड पितृमोक्ष भवन

पुरानो भवनबाट सामाजिक गतिविधि सञ्चालन गर्दै आएको सङ्घले अब सेवा विस्तार गर्ने योजना बनाएको छ । भवनको सामुन्नेमा रहेको थप १० कट्ठा जग्गामा ‘अखण्ड पितृमोक्ष भवन’ निर्माण गर्ने योजना रहेको सङ्घका अध्यक्ष जनार्दन उप्रेतीले बताउनुभयो ।

उक्त भवनमा कहिल्यै ननिभ्ने दियो बाल्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । भवनको तल्लो भागमा व्यायामशाला बनाउने योजना छ । त्यसका लागि कोशी प्रदेश सरकारबाट रु १० लाख सहयोगको आश्वासन पाएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

“हामीले सामाजिक कामलाई अझ व्यवस्थित र फराकिलो बनाउन खोजेका छौँ”, उहाँले भन्नुभयो, “पितृमोक्ष भवनसँगै व्यायामशाला बनाउने योजना छ । यसले ज्येष्ठ नागरिकदेखि अन्य समुदायका मानिसलाई उपयोगी हुनेछ ।”

सङ्घले आगामी दिनमा क्याटरिङ सेवा सञ्चालन गर्ने, एम्बुलेन्स तथा शववाहन सेवा सञ्चालन गर्ने र थप जग्गा जोड्दै सामाजिक सेवा विस्तार गर्ने योजना बनाएको छ ।

स्थानीय सरकारसँग सहयोगको अपेक्षा

तीन दशकदेखि सामाजिक काम गर्दै आए पनि स्थानीय सरकारबाट अपेक्षाअनुसार सहयोग नपाएको सङ्घको गुनासो छ । वडा कार्यालयबाट केही थान कुर्सी सहयोग भए पनि नगरपालिकाबाट भने हालसम्म उल्लेख्य सहयोग नपाएको अध्यक्ष उप्रेतीले बताउनुभयो । विभिन्न समयमा सहयोग गर्ने प्रतिबद्धता र आश्वासन पाए पनि व्यवहारमा सहयोग हुन नसकेको उहाँको भनाइ छ ।

“यो सामाजिक काम हो, व्यक्तिगत लाभका लागि होइन । सामूहिक हितका लागि काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आर्थिक सहयोग भए कार्यालय व्यवस्थापनदेखि सामाजिक सेवा विस्तारसम्म सहज हुने थियो । आगामी दिनमा स्थानीय सरकारले सहयोग गर्छ भन्ने अपेक्षा छ ।”

अध्यक्ष उप्रेतीका अनुसार अर्जुनधारा–७ मा सुरु भएको सामूहिक सहयोगको अभ्यास वडा नं ८ र ९ लगायत अन्य वडासँगै केही पालिका र बाहिरी जिल्लामा समेत अनुकरण हुन थालेको छ ।

“विपत्ति र अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्नु मानव धर्म हो”, अध्यक्ष उप्रेतीले भन्नुभयो, “समयसँगै जीवनशैली परिवर्तन हुँदै गए पनि आपसी सहयोग र सहकार्यको भावना जोगाइराख्नुपर्छ । सामूहिक प्रयासबाट समस्या समाधान गर्दै गाउँघरमा एकअर्काको सुखदुःखमा साथ दिने नेपाली संस्कारलाई निरन्तरता दिनुपर्छ ।”(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.