राजनीति

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गर्नुभएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुमवासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपुर्जा दिने कुरामा ढुक्क भएर बस्न आग्रह गर्नुभएको हो ।

“तपाईंहरुलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ”, मन्त्री रावलले भन्नुभयो, “यसमा जिल्ला भूमि समितिले छिटोभन्दा छिटो काम सुरु गरेर तपाईंहरुलाई लालपुर्जा दिन्छ ।” उहाँले देशैभर भएको समस्या समाधानका लागि कानुनमा धेरै सुधार गर्नुपर्ने रहेको बताउनुभयो ।

अहिलेको कानुनले सुकुमवासीको समस्या समाधानमा समस्या देखिएकाले कानुन संशोधन गरेर मुलुकभरका सुकुमवासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाइ थियो ।

“देशैभरका सुकुमवासीको समस्या समाधानका लागि ऐनमा धेरै संशोधन गर्नुपर्ने छ, अहिलेको कानुनमा केही बाधा अडचन छन्”, उहाँले भन्नुभयो, “सुकुमवासीको समस्या समाधान गर्न सरकार तत्पर छ कानुनमा देखिएका समस्या सुधार गर्छौं ।”

सरकारले भूमिहीन सुकुमवासीको समस्या प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री रावलले बताउनुभयो । “तपाईंहरु बसिरहेको ठाउँबाट उठाउने काम सरकारले गर्दैन”, उहाँले भन्नुभयो, “तपाईंहरु ढुक्क हुनुस्, सरकारले तपाईंहरुलाई लालपुर्जा दिन्छ ।” उहाँले सुकुमवासीलाई अफवाहमा नलाग्नसमेत आग्रह गर्नुभयो ।

मन्त्री रावलले आइतबार बिहानैदेखि कञ्चनपुरका विभिन्न पालिकामा पुगेर भूमिहीन सुकुमवासीसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले दोधारा–चाँदनी नगरपालिका, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका भूमिहीन सुकुमवासीलाई भेट्दै सरकारले छिट्टै लालपुर्जा दिने बताउनुभयो ।

त्यसैगरी, मन्त्री रावलले आजै महेन्द्रनगरस्थित निर्माणाधीन अवस्थामा रहेको मझगाउँ विमानस्थल र दोधारा–चाँदनी नगरपालिकास्थित सुक्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.