जापान

‘प्रधानमन्त्री निवास पनि मेरो कार्यस्थल’ : प्रधानमन्त्री ताकाइची

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सरकारी कार्यक्रमबाहेक अधिकांश समय प्रधानमन्त्री निवासमै बसेर काम गर्ने आफ्नो कार्यशैलीको बचाउ गर्नुभएको छ।

निवासमै रहेर काम गर्दा लामो समयसम्म निरन्तर काम गर्न सकिने र कर्मचारी तथा सुरक्षा टोलीमाथिको बोझ पनि कम हुने उहाँको भनाइ छ।

प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री निवासमा हुने बैठक र सरकारी छलफलहरू सार्वजनिक दैनिक कार्यतालिकामा नपर्ने भए पनि त्यो आफ्ना लागि पूर्ण रूपमा कार्यस्थल नै भएको उल्लेख गर्नुभएको छ।

उहाँले निवासमा कार्यालयजस्तै काम गर्ने वातावरण तयार पारेको बताउँदै अधिकांश सरकारी कागजात त्यहीँ अध्ययन गर्ने र आवश्यक निर्णय प्रक्रिया पनि त्यहीँबाट अघि बढाउने जानकारी दिनुभएको छ।

गत वर्ष प्रधानमन्त्री बनेयता ताकाइची अत्यन्त व्यस्त कार्यशैलीका कारण चर्चामा रहँदै आउनुभएको छ। उहाँले यसअघि आफूले कतिपय रात केवल शून्यदेखि तीन घण्टासम्म मात्र निद्रा लिने गरेको सार्वजनिक गर्नुभएको थियो।

जापानी सञ्चारमाध्यम निक्केईका अनुसार प्रधानमन्त्री बनेपछि अधिकांश शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिन उहाँ निवासबाट बाहिर ननिस्किएको देखिएको छ। अघिल्ला तीन प्रधानमन्त्रीको तुलनामा यो निकै फरक कार्यशैली मानिएको छ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक कार्यतालिकाको विश्लेषणले पनि उहाँको नेतृत्व शैली अघिल्ला प्रधानमन्त्रीभन्दा भिन्न रहेको देखाएको छ।

वित्त मन्त्रालयका अधिकारीहरूसँगको भेटघाट र मन्त्रिपरिषद् कार्यालयका बैठकहरू अघिल्ला प्रधानमन्त्रीहरूको तुलनामा कम भए पनि उहाँले अधिकांश समय निवासमै बसेर कागजात अध्ययन र निर्णय तयारीमा खर्च गर्ने गरेको बताइन्छ।

सञ्चारमाध्यमसँग पनि उहाँले आफ्ना पूर्ववर्तीहरूको तुलनामा कम संवाद गर्ने गर्नुभएको छ भने आफ्ना धारणा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सार्वजनिक गर्ने शैली अपनाउनुभएको छ।

यही कार्यशैलीले उहाँलाई गत फेब्रुअरीको निर्वाचनमा ऐतिहासिक सफलता दिलाउन सहयोग पुगेको विश्लेषण गरिए पनि विपक्षी दलका केही नेता र राजनीतिक विश्लेषकहरूले भने अत्यधिक एक्लै निर्णय गर्ने तथा निवासमै सीमित रहने प्रवृत्तिको आलोचना गरेका छन्।

पछिल्लो समय बढ्दो जीवनयापन खर्चका विषयभन्दा अन्य कानुन निर्माणमा बढी केन्द्रित भएको आरोपसँगै उहाँको लोकप्रियतामा पनि केही गिरावट आएको जनमत सर्वेक्षणहरूले देखाएका छन्।

प्रधानमन्त्री ताकाइचीले आफू सकेसम्म बिदाका दिन तथा बिहान सबेरै वा राति अबेरसम्म अनावश्यक रूपमा निवासबाट बाहिर ननिस्कने गरेको बताउनुभएको छ। बाहिर जाँदा ठूलो संख्यामा व्यक्तिगत सुरक्षा अधिकारी (एसपी) परिचालन गर्नुपर्ने भएकाले उनीहरूमाथिको कार्यभार कम गर्न आफूले यस्तो अभ्यास गरेको उहाँको भनाइ छ।

सन् १९२९ मा निर्माण भएको ऐतिहासिक प्रधानमन्त्री निवासमा गत डिसेम्बरदेखि बस्दै आउनुभएकी ताकाइचीले सप्ताहन्तमा अर्को रोचक अनुभव पनि सार्वजनिक गर्नुभयो।

प्रधानमन्त्री ताकाइचीले पहिलेका केही प्रधानमन्त्रीहरूले उक्त भवनलाई ‘भूत लागेको घर’ भनेर ठट्टा गर्ने गरे पनि आफूले कुनै भूत नदेखेको तर भवनभित्र साङ्ला (कक्रोच) देख्दा भने निकै छक्क परेको उल्लेख गर्नुभएको छ।

सचिवालयले विषादी प्रयोग गरेपछि साङ्ला देखिन छाडेको बताउँदै उहाँले “समस्या त समाधान भयो, तर कुनै हिसाबले अलिकति खालीपन र उदासी पनि महसुस भयो,” भन्ने टिप्पणी गर्नुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.