जन सरोकार

उपचार खर्च तिर्न नसक्दा दलित दम्पत्ति अस्पतालमा बन्धक

उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उहाँकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बन्नुभएको हो । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन ।

कुटपिट गर्ने आरोपितले खर्च नतिर्दा र अस्पतालले खर्च नलिई घर फर्किन नदिँदा सदा दम्पती अस्पतालमा रोकिएको हो । शिवचन्द्रका भाइ पवनले आज प्रदेश नं २ का मुख्यमन्त्री, मानव अधिकार आयोग, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई न्याय तथा उपचार खर्चका लागि गुहार्नुभएको छ ।

दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाइनमार्फत उजुरी गरिएको मञ्चका भोला पासवानले बताउनुभयो । वर्षाको समयमा दीना साहले बगाएको घरको पानीले सदाको झुपडी डुबानमा परेपछि आफूहरुले जथाभावी माटो काट्ने काम नगर्न अनुरोध गर्दा साह परिवारले कुटपिट गरेर घाइते बनाएको शिवचन्द्रले बताउनुभयो ।

कुटपिटबाट घाइते सदा दम्पती उपचारका लागि शुरुमा स्थानीय क्लिनिक पुग्यो । स्थानीय क्लिनिकले अस्पताल लैजान सुझाएपछि उहाँहरु थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना हुनुभयो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित साहलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलायो । तीन सातापछि गत साउन ३२ गते जिल्ला सरकारी वकिलको कार्यालयको पत्राानुसार साह रिहा हुनुभयो ।

उपचार खर्च आरोपितले व्योहोर्ने आशामा बसेका भूमिहीन र गरिब सदा दम्पतीले खर्च भर्न नसक्दा अस्पतालले रोकेर राखेको छ । शिवचन्द्रका अनुसार अस्पतालले उहाँहरुलाई बाहिर निक्लिन नदिन सुरक्षा गार्ड खटाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले पीडित पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकाले आरोपितबाट उपचार खर्च तिराउन समस्या भएको बताउनुभयो । प्रहरीले बिल ल्याउन भने पनि अस्पतालले पैसा नतिरी बिल दिन नसकिने जनाउँदै आएको छ ।

दलित अगुवा बलराम सदाले धेरै आग्रह गरेपछि अस्पताल प्रशासनबाट लेटरप्याडमा साउन ३२ गतेसम्ममा औषधिबाहेक रु एक लाख २५ हजार ८०० खर्च भएको लेखेर दिएको जानकारी दिनुभयो । अस्पतालमा बसेको दिन थपिँदै जाँदा खर्च पनि थपिँदै जाने अस्पतालका प्रबन्धक ज्याउल हकले बताउनुभयो । हकले भन्नुभयो, “उपचार गर्दासम्म हामीले पैसा मागेनौँ, अब उपचारपछि भएको खर्च त दिनुपर्यो ।”

आरोपितले खर्च नतिरेपछि अस्पतालबाट बाहिर निक्लिन नपाएर चिन्तित बनेकी मलियादेवीले रुँदै भन्नुभयो, “यता हामी बन्धक भयौँ, उता घरमा तीन नाबालक छोराको बिजोग छ, उनीहरु खान नपाएर भोकै हामीलाई पर्खेर बसेका होलान् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.