जन सरोकार

तिलोत्तमामा खुल्यो नेपालकै पहिलो अटिजम विद्यालय

रुपन्देहीको तिलोत्तमा–५ मा रहेको नमूना माध्यमिक विद्यालयले नेपालमै पहिलो पटक अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ ।

लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री वसिउद्दीन खाँले अटिजम भवनको बुधबार उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा मन्त्री खाँले सबैखाले बालबालिकाको शिक्षामा पहुँच हुनुपर्ने बताउनुभयो ।

उहाँले अटिजम भएका बालबालिकालाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचारको आवश्यक व्यवस्था मिलाउन मन्त्रालय तयार रहेको बताउनुभयो ।

उहाँले यस्ता बालबालिकाको जीवनयापन सहज बनाउन आवश्यकपर्ने स्रोतसाधनका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउनसकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताउनुभयो ।

पछिल्लो समयमा आमाबुबाको व्यस्त जीवनशैलीका कारण बालबालिकालाई भुलाउने क्रममा दिइने मोबाइका कारण पनि अटिजम हुने गरेको उहाँको भनाइ छ ।

अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले अटिजम आफैँमा विशेष अवस्था भएको बताउनुभयो । हेर्दा सामान्ने देखिने बालबालिकामा समेत अटिजमको समस्या हुने भन्दै उहाँले लामो समयको घुलमिलपछि मात्र समस्या थाहा पाउन सकिने उहाँले जानकारी दिनुभयो ।

शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले नेपालमै पहिलो अटिजम विद्यालय सञ्चालन गर्न लागिएको बताउँदै बालबालिकालाई विशेष प्रकारको शिक्षा दिनुका साथै समायोजन तथा सामाजिकीकरणका तालिम दिँदै पुनःस्थापनाका कार्यक्रम चलाइने उल्लेख गर्नुभयो ।

उहाँले त्यसका लागि आवश्यकपर्ने स्रोतसाधन उपलब्ध गराइदिन स्थानीय तह र प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.