राजनीति

गहन राष्ट्रिय समस्यालाई बिचमै छाडेर नभाग्ने राष्ट्रपति भण्डारीको प्रतिबद्धता

राष्ट्रपतिबाट प्रतिनिधिसभामा संविधानको धारा उल्लेख गर्दै सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक सत्ता गठबन्धनले बहुमतको बलमा जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिन लागेको चर्चा चलेको छ ।

यसबीचमा राष्ट्रपति भण्डारीले गहन राष्ट्रिय समस्या समाधानमा पछि नपर्ने र सार्वभौम सत्ताको पक्षमा आफू अडिग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार राष्ट्रपति भवन शितल निवासमा उहाँकै निमन्त्रणामा उपस्थित प्रधानसेनापति प्रभुराम शर्मा, दुई पूर्व प्रधानसेनापति प्यारजंग थापा र पूर्णचन्द्र थापासहित करिब ७० जना अवकास प्राप्त जर्नेलहरूसँगको अन्तरक्रियामा राष्ट्रपतिले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले आफू गहन राष्ट्रिय समस्यालाई बिचमै छाडेर नभाग्ने तथा राजीनामा पनि नदिने खुलासा गर्नुभयो ।

करिब साढे दुई घण्टा चलेको उक्त अन्तरक्रियामा राष्ट्रपतिले भेलाको उद्देश्यबारे प्रकाश पार्दै अन्तमा अन्तरक्रियामा उठेका मुद्दाहरूको जवाफ र केही बुँदामा स्पष्टिकरण पनि दिनुभएको थियो ।

आफू रक्षामन्त्री हुँदादेखि नै सेनासँग निकट रहेको र अहिले राष्ट्रपतिका हैसियतले सेनाको परमाधिपति भएको अवस्थामा पनि समसामयिक विषयमा सेवा निवृत्तहरुको अभिमत बुझ्न छलफल आयोजना गरेको उहाँले बताउनुभयो ।

समसामयिक विषयमा भएको अन्तरक्रियामा अधिकांशको चासो र सुझावको केन्द्रमा विवादास्पद नागरिकता संशोधन विधेयक नै थियो ।

पूर्व सेनापति पूर्णचन्द्र थापाले नागरिकता जस्तो विषयलाई राष्ट्रिय सुरक्षा नीतिमा नै आउनुपर्ने भन्दै योसँगै खुला सीमानालाई नियमन गर्नुपर्ने सुझाव पनि दिएका थिए।

कार्यक्रमको अन्त्यमा झण्डै एकघण्टा लामो स्पष्टिकरण र उठेका विषयहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिले आफूले संसदमा फिर्ता गरेको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरे पनि राष्ट्रियसभाले त्यसमा विवेक प्रयोग गर्दै उचित निर्णय लिने आशा व्यक्त गर्नुभएको थियो ।

सहभागीहरुले राष्ट्रिपतिले कुनै पनि हालतमा राजीनामा गर्न नहुने र समस्याको समाधानमा प्रभावकारी भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.