५० वर्षको प्रतीक्षापछि पोखरा बसपार्कले गति लिँदै, ५६७ परिवारको व्यवस्थापन टुङ्गियो
करिब पाँच दशकदेखि निर्माण हुन नसकेको पोखराको बहुप्रतीक्षित सुविधासम्पन्न बसपार्क निर्माणको प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ।
बसपार्क क्षेत्रभित्र वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गिएसँगै बस्ती व्यवस्थापन र बसपार्क निर्माणको काम अघि बढ्ने भएको हो।
पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका परिवारको दाबी–विरोध, संशोधन निवेदन र विस्तृत छानबिनपछि वडा तहको सहजीकरण समितिले अन्तिम विवरण तयार गरेको छ।
महानगर प्रमुख धनराज आचार्यका अनुसार अन्तिम सूचीमा १४४ भूमिहीन दलित, १८१ भूमिहीन सुकुमबासी गरी कुल ३२५ परिवार भूमिहीनका रूपमा कायम भएका छन् भने २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्।
यसअघि प्रारम्भिक चरणमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन प्राप्त भएका थिए। सार्वजनिक सूचना जारी गरी दाबी–विरोध र संशोधनका लागि अवसर दिइएपछि आवश्यक छानबिन गरेर अन्तिम विवरण तयार पारिएको महानगरले जनाएको छ।
वडा तहको सहजीकरण समितिले प्रतिवेदन वडा समितिमा बुझाइसकेको छ। वडा समितिले उक्त प्रतिवेदन आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ। अब महानगर कार्यपालिकाले प्रतिवेदन अनुमोदन गरी जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ।
नगरप्रमुख आचार्यले वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासीको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
“हामीले कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यका साथ दाबी–विरोध र छानबिन प्रक्रिया पूरा गरेका छौँ। प्रक्रिया समयमै सम्पन्न भए अर्को सातादेखि बस्ती स्थानान्तरणको काम अघि बढ्नेछ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार महानगरले सम्बन्धित सबै निकायसँग समन्वय गरी व्यवस्थित रूपमा स्थानान्तरण सम्पन्न गर्नेछ। त्यसपछि बसपार्क निर्माणका लागि आवश्यक जग्गा पूर्ण रूपमा खाली गरिनेछ।
पाँच दशकदेखि रोकिएको योजना
पोखरामा आधुनिक बसपार्क निर्माणका लागि विसं २०३२ मै जग्गा अधिग्रहण गरिएको थियो। तर विभिन्न प्रशासनिक, कानुनी तथा व्यवस्थापकीय कारणसँगै बसपार्क क्षेत्रको अतिक्रमणका कारण योजना पाँच दशकसम्म कार्यान्वयन हुन सकेन।
परिणामस्वरूप लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पृथ्वीचोकको सडक र फुटपाथबाट सञ्चालन हुने बाध्यता रहँदै आएको थियो, जसले ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षामा समेत चुनौती सिर्जना गरेको थियो।
बसपार्कभित्र सुकुमबासी बस्ती विस्तार हुनुका साथै व्यापारिक संरचना निर्माण भएपछि परियोजना थप जटिल बनेको थियो। पछिल्लो समय महानगरपालिकाले बसपार्क क्षेत्रभित्र रहेका व्यापारिक सटर तथा कवल हटाउने अभियान सञ्चालन गरिसकेको छ।
महानगरले जग्गा खाली भएपछि दातृ निकायको सहयोगमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना अघि बढाएको छ। बसपार्क सञ्चालनमा आएपछि पोखराको सार्वजनिक यातायात व्यवस्थापन, ट्राफिक चाप न्यूनीकरण तथा पर्यटन राजधानीका रूपमा विकसित हुँदै गएको शहरको पूर्वाधारमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ।
सुकुमबासीको पनि सहयोगको प्रतिबद्धता
भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले वास्तविक सुकुमबासीको निष्पक्ष पहिचान र वैकल्पिक व्यवस्थापन भए आफूहरू बसपार्क निर्माणमा बाधक नबन्ने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “बसपार्क नबन्नुको कारण हामी मात्र होइनौँ। विकासका लागि हामी सहयोग गर्न तयार छौँ। तर बसपार्क खाली गर्नुअघि हाम्रो वैकल्पिक व्यवस्थापन सुनिश्चित हुनुपर्छ।”
महानगरले व्यवस्थापन प्रक्रिया निष्पक्ष रूपमा टुङ्ग्याएर स्थानान्तरण अघि बढाउने तयारी गरेसँगै लामो समयदेखि रोकिएको पोखरा बसपार्क निर्माणले अब वास्तविक गति लिने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्