जल/वातावरण

उपत्यकामा बढ्दो सङ्क्रमणबीच ‘चेन ब्रेक’को प्रयास

उपत्यकाको तापक्रम

कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरूले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तीव्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ र शङ्कास्पद क्षेत्र’ का व्यक्तिको स्वाब परीक्षण तीव्र पारिएको छ ।

मुख्यगरी उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ । काठमाडौँ उपत्यकाका १६ नगरपालिका र दुई महानगर फोरममा आबद्ध छन् । फोरमको बैठकले सङ्क्रमण फैलिन नदिन वडातहमै पुगेर पहिचान र उपचारलाई तिव्रता दिने निर्णयमुताविक काम थालेको हो । समुदायमा कोरोनाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन एकीकृत रूपमा कार्यक्रम थालेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो । हाल उपत्यकामा १० हजार सङ्क्रमित रहेको आशङ्काका साथ नियन्त्रणको काम अघि बढाइएको छ ।

उक्त अभियानमार्फत समुदायस्तरमा सङ्क्रमण फैलिएको छ या छैन भन्ने कुरासमेत पत्ता लगाउने र समुदायमा फैलिएको अवस्था भेटिए नयाँ रणनीतिका साथ अघि बढ्ने श्रेष्ठले जानकारी दिनुभयो । प्राप्त विवरणमा आजसम्म उपत्यकमा झण्डै तीन हजार व्यक्तिमा कोभिड–१९ देखिएको छ । झण्डै एक हजार २०० उपचार पछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकालगायत केही जिल्लामा महामारीकै रूपमा सङ्क्रमण फैलिएको जानकारी दिनुभयो । आज मात्रै उपत्यकामा २३२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । त्यसमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका १९९ छन् ।

उपत्यकामा विगतमा नगन्य सङ्क्रमण भएकोमा बन्दाबन्दीको अन्त्य भएपछि साउनमा अत्यधिक रूपमा सङ्क्रमित भेटिएको छ । साउन ६ गतेदेखि लागू हुने गरी सरकारले बन्दाबन्दी अन्त्य गरेको थियो । त्यसपछि बाहिरी जिल्लाबाट मानिस उपत्यका प्रवेश गर्दा सङ्क्रमण फैलिन सहयोग गरेको थियो ।

“पछिल्लो समय उपत्यकामा तीव्र गतिमा सङ्क्रमण फैलियो, अब सङ्क्रमण रोक्न सकिएन भने स्थिति जटिल बन्नसक्छ”, मध्यपुर थिमि नगरपालिकाका प्रमुखसमेत रहनुभएका फोरमका सचिव श्रेष्ठले भन्नुभयो, “फैलिँदै गरेको सङ्क्रमणको ‘चेन ब्रेक’ गरेरै छाड्ने योजनाका साथ हामी लागेका छौँ ।” फोरमको हालैको बैठकले सङ्क्रमितसँगको कन्ट्याक ट्रेसिङ गर्ने, उनीहरूको परिवारका साथै शङ्कास्पद क्षेत्रका मानिसको समेत स्वाब सङ्कलन गरेर परीक्षण गर्ने निर्णय गरेको छ ।

अनुसन्धानमा उपत्यकामा मात्रै अहिलेसम्म यसरी परीक्षण गर्नुपर्ने झण्डै २८ हजार ५०० रहेका छन् । उनीहरूको परीक्षण गर्दा १० हजारमा सङ्क्रमण देखियो भने समुदायमा गएको पुष्टि हुन्छ । नत्र भने समुदायमा नपुगेको निष्कर्षका साथ रोक्ने आगामी रणनीति तय हुन्छ । सोहीअनुसार तथ्याङ्क सङ्कलन र विश्लेषणको आधारमा हरेक नगरपालिकाले अभियान थालेको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार मध्यपुर थिमिले वुधबारबाट उक्त अभियान थाल्दै छ । “दुई ‘हट स्पट’ छानेका छौँ, त्यहाँको बुधबार मात्रै ५०० जनाको स्वाब सङ्कलन हुँदैछ”, श्रेष्ठले भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल महानगरको १५ वटा वडाबाट कन्ट्याक ट्रेसिङको काम थालिसकेको बताउनुभयो । “सबैभन्दा पहिले शङ्कास्पद व्यक्तिका स्वाब सङ्कलन गरी परीक्षण नै हो त्यसपछि उनीहरूलाई राख्ने स्थान (आइसोलेसन)को व्यवस्थापन हो, त्यसमा लागेका छौँ”, डङ्गोलले भन्ुनभयो ।

आइसोलेसनसमेत बढाउँदै

उपत्यकामा अहिले आइसोलेसन न्यून छ । त्यसैले सरकारले लक्षण नदेखिएकालाई घरमै आइसोलेसनमा बस्ने गरी मापदण्ड तयार पारेको छ । त्यसमा समुदायस्तरबाट दुव्र्यवहारका घटनासमेत देखिएकाले स्थानीय प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले दुव्र्यवहार गर्नेविरुद्ध कारबाही गर्न निर्देशनसमेत दिएको छ । त्यसैले आवश्यकता देखेर आइसोलेसनको व्यवस्थापनमा गृह मन्त्रालयसहित उपत्यकाको नगरपालिका लागेको छ ।

काठमाडौँ महानगरले आइसोलेसन बनाउनका लागि ५÷६ स्थान छनोट गरिसकेको छ । स्थानीयबाट विरोध आउनसक्ने भएकाले नाम सार्वजनिक गरिएको छैन । अहिलेलाई सबै अस्पताल नै छनोट गरिएको डङ्गोलले बताउनुभयो । परीक्षणमा सङ्क्रमित फेला परे उनीहरूलाई राख्न झण्डै ६ हजारको आइसोलेसन थप्ने योजना गृह मन्त्रालयको समेत छ । उपत्यकाका नगरपालिकासमेत आइसोलेसन व्यवस्थापनको तयारीमा जुटेका छन् । भक्तपुरले एक हजार बेडको आइसोलेसन तयार पारिसकेको छ ।

अहिलेको निषेधाज्ञालाई एक हप्ता थप्न सुझाव दिएको फोरमले १५ गतेसम्म आफ्नो सबै सेवा रोकेर यही बीचमा परीक्षण सक्ने योजनाका साथ काम थालेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । अहिलेको परीक्षणले उपत्यकाको सङ्क्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउने र अवस्था हेरेर नयाँ रणनीति बनाउन फलदायी हुने विश्वास गरिएको छ । नयाँ आइसोलेसन बनाउँदा समस्या हुने र पार्टी प्यालेसलाई पनि प्रयोग गर्न सक्ने अवस्था नरहेकाले अस्पताललाई नै परिचालन गर्नुको विकल्प नभएको फोरमले जनाएको छ ।

फोरमले स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी महाशाखाका अधिकारीसँग समेत छलफल गरिसकेको छ । छलफलको निष्कर्षअनुसार महाशाखाबाट हरेक नगरपालिकाका लागि एक÷एक जना फोकल व्यक्ति उपलब्ध हुनेछन् । महानगरभित्र रहेको स्वास्थ्य सेवा एकाइको टोलीले उनीहरूसँग समन्वय गरेर कन्ट्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरेर परीक्षण गर्नेछ । अहिले १० हजार सङ्क्रमित रहेको अनुमान गरिए पनि परीक्षण पछि मात्रै यकिन विवरण आउने जनाइएको छ । सबै काम आगामी एक हप्तामा सक्ने योजना फोरको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.