राजनीति

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपति र राजा महेन्द्रको चर्चा

बुधबार साँझ नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधान सेनापतिसहित पूर्व सेनापति र जर्नेलहरुसंग गरेको छलफललाई लिएर सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ ।

बिहिबार सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुले २०१७ सालमा राजा महेन्द्रले कु गर्नुअघि सेनासंग छलफल गरेको सन्दर्भ निकाल्दै राष्ट्रपतिबाट पनि त्यस्तै अनिष्ट हुनसक्ने आशंका व्यक्त गरेका थिए ।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति भण्डारीले सैनिक अधिकारीहरूसँग गरेको रात्रिभोज र त्यसमा राखेको धारणाका पछि असल मनसाय नरहेको बताउनुभएको थियो ।

पौडेलले राष्ट्रपति भण्डारीले बढ्ता नै राजनीति गर्न थालेको आरोप लगाउँदै संविधानको दायरा र मर्यादालाई नाघेर लोकतन्त्रलाई उल्टाउने तानाबाना बुन्न खोजेको हो कि भन्ने आशंका उठेको बताउनुभयो ।

पौडेलले २०१७ सालमा राजा महेन्द्र शाहले गरेकै जस्तो गतिविधिमा राष्ट्रपति उत्रन थालेकी हुन् कि भन्ने आशंकासमेत बढेको बताउँदै भन्नुभयो, ‘राष्ट्रपति निवासमा पूर्वसैनिक अधिकारीहरूलाई भेला गरेर भोज खुवाउनु र नागरिकता विधेयक हुबहु जारी गरे राष्ट्रियतामाथि नै खतरा आउने भनेर बोल्नु राम्रो संकेत होइन । लोकतन्त्र कमजोर पार्ने र मुलुकलाई सधैं अस्थिरतातिर धकेल्ने काममा राष्ट्रपति नै लाग्नु आपत्तिको विषय हो ।’

रात्रिभोजमा केही सैनिक अधिकारीले प्रतिनिधिसभाले पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट हुबहु पारित भएर आए जारी नगरी कानुनी उपाय खोज्नुपर्ने राय राष्ट्रपतिसमक्ष राखेका थिए ।

त्यस्तै माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले देखाएको पछिल्लो सक्रियता अस्वाभाविक र असंवैधानिक रहेको बताउनुभएको थियो ।

उहाँले २०६३ सालको नागरिकतासम्बन्धी कानुन बनाउने क्रममा राष्ट्रपति भण्डारी स्वयं संलग्न रहेको उल्लेख गर्दै अहिलेको कदम भने अस्वाभाविक रहेको बताउनुभयो ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका गतिविधिलाई आफूहरूले सूक्ष्म रूपमा अध्ययन गरिरहेको बताउनुभयो ।

राष्ट्रपति कार्यालयले भने सैनिक अधिकारीहरूसँगको रात्रिभोज नागरिकता विधेयकमा छलफल गर्न आयोजना गरिएको नभई पूर्वनिर्धारित ‘कट्सी’ भेटघाट मात्रै भएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.