जन सरोकार

गौहत्याका आरोपी छुटाउन प्रहरीमाथि हातपात, गोली चल्दा एकको मृत्यु

झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ । घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा बुधबार बेलुकी ९ बजेतिर मृत्यु भएको हो । आलमको पेटमा गोली लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार अपराह्न गोरु काटेका आरोपमा प्रहरीले स्थानीय दुई व्यक्तिलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो । साँझ ती व्यक्तिलाई जिल्लामा लैजाँदै गर्दा इप्रकाभन्दा तीन किलोमिटर उत्तर बाटामा पर्ने कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि हातपात गरेको थापाले बताउनुभयो ।

प्रहरीको गाडीको चाबीसमेत खोसेर स्थानीयवासीको एउटा समूहले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाइएको छ । सम्झाउँदा नमानेपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको तर झन् उत्तेजित भएर प्रहरीमाथि नै हातपात हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले घटनाका कारण कामाटोली बजार तनावग्रस्त रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.