जापानबासी नेपालीको सम्मान बढाउने काम गर्छु : नवनियुक्त उपनियोगप्रमुख जोशी
जापानका लागि नेपाली राजदूतावासका नवनियुक्त उपनियोग प्रमुख अम्बिका जोशीले आफ्नो कार्यकालमा जापानबासी नेपालीहरुको सम्मान बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले गरेको स्वागत भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
तीन साता अघि जापान आईपुग्नु भएका उपनियोग प्रमुख जोशीलाई एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी सहितका पदाधिकारीहरुले दूतावास मै पुगेर स्वागत गरेका थिए ।
सोही अवसरलाई सम्वोधन गर्दै उपनियोग प्रमुख जोशीले जापानमा जापानवासी नेपालीहरुको सम्मान बढाउने काम गर्ने बताउँदै जापानमा बस्ने नेपाली समुदायसंग मिलेर नियम कानुनसम्वतका हरेक कामलाई चुस्तदुरुस्त गर्ने लक्ष्य अनुरुप काम गर्ने र सेवाग्राहीमा सहज सेवा प्रदान गर्न कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभयो ।
सोही अवसरमा एनआरएनए जापानका अध्यक्ष भण्डारीले एनआरएनएले हाल गर्दै आएका अभियानमा दूतावासको रचनात्मक सहयोगको निरन्तर अपेक्षा रहेको बताउनु भयो ।
समारोहमा राजदूतावासका द्वितीय सचिव जीतबहादुर कार्की, एनआरएनए जापानका महासचिव जनकविक्रम शाही, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, एनआरएनए जापान महिला संयोजक संगीता अधिकारी तथा नेपाल जापान डटकमका सम्पादक आनन्द कोइराला समेतको सहभागिता रहेको थियो।