जल/वातावरण

ललितपुर बुटवल र पोखरामा थप चारजना संक्रमितको मृत्यु

बिहिबार विहान उपत्यकाको ललितपुर बुटवल र पोखरामा गरी थप चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । समाचार अनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

उक्त अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १०ः३० बजे एक महिलाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका– २, जानकीनगरकी करीब ७० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । ती महिलामा थाइराइड र उच्च रक्तचाप समस्या रहेको उहाँले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई गत साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा राखिएको र स्वास्थ्यमा समस्या देखिँदै गएपछि साउन ३१ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कोरोना विशेष अस्पतालको पहिलो प्लाज्मा थेरापीका माध्यमबाट चिकित्सकले उपचार थालेका थिए । पहिलोपटक प्लाज्मा दिएर बुधबार बेलुकासम्म स्वास्थ्यावस्थामा राम्रो सुधार देखिएको तर गए रातिदेखि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आज बिहान पुनः अर्को प्लाज्मा दिने तयारी भइरहेको अवस्थामा मृत्यु भएको हो ।

उनलाई प्लाज्मा दिनका लागि केही समयअघि कोरोना सङ्क्रमणबाट मुक्त भएका कपिलवस्तुका एक युवक बिहिबार बिहान बुटवल आइपुगेका थिए । रुपन्देहीमा यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

यसै गरी बुधबार राति करीब ११ बजे कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारका क्रममै सोही अस्पतालमा मृत्यु भएको थियो । उनको राति स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि राति नै मृत्यु भएको बताइएको छ । सङ्क्रमितलाई यही भदौ ५ गते सङ्क्रमण पुष्टि भएपछि कोरोना अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसै गरी ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो ।

पाठकका अनुसार ति पुरुषको स्थायी घर अर्घाखाँची हो भने केही समयदेखि काठमाडौंको तारकेश्वर नगरपालिका–११ मा बस्दै आएका थिए ।

उता पोखरा महानगरपालिका( १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले जानकारी दिनुभयो ।

उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते प्रतिष्ठानमा ल्याइएको थियो । महिलालाई बुधबारदेखि स्वास्थ्य समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो । निर्देशक आचार्यले भने, ‘उनमा अरु स्वास्थ्य समस्या नभएको खुलेको छ । कोभिडकै कारणले मृत्यु भएको अहिलेसम्म जानकारीमा आएको छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौं कोरोना संक्रमित हुन् । पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि पोखरा महानगरपालिका १६ का ८७ वर्षका वृद्ध र पोखरा  १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.