जन सरोकार

महानगरको डोजर अभियानपछि व्यवसायीहरु आफैं भत्काउन थाले अवैध संरचना

काठमाडौं महानगरपालिकाले कानुन विपरीत बनेका अवैध संरचनाहरु भत्काउन सुरु गरेपछि विभिन्न क्षेत्रमा संरचना बनाउनेहरुले नै हटाउन सुरु गरेका छन् ।

यस क्रममा बानेश्वरमा यूएफओ ब्रान्डलगायतका पसल चलिरहेको व्यावसायिक भवनको सञ्चालकले पार्किङ क्षेत्र खाली गर्न थालेको सूचना प्राप्त भएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताउनुभयो ।

महानगरले यसअघि नै अनधिकृत रूपमा संरचना निर्माण गरेका र पार्किङ गर्ने ठाउँमा पसल सञ्चालन गरेकालाई यस्तो संरचना हटाउन ३५ दिने सूचना जारी गरिसकेको छ ।

अभियानअन्तर्गत महानगरले शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको भूमिगत तला (बेसमेन्ट) खाली गराइएको छ । नक्सा पासअनुसार पार्किङका रूपमा प्रयोग हुुनुपर्ने सो ‘बेसमेन्ट’ प्रतीक्षालयका रूपमा प्रयोग हुँदै आएको थियो ।

दैनिक हजारौँको सङ्ख्यामा सेवाग्राही आउने राहदानी विभागमा पार्किङको व्यवस्था नभएपछि जथाभावी पार्किङ गर्दा त्रिपुरेश्वर, थापाथली, टेकुलगायतको क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको थियो । सेवाग्राही आसपासका गल्ली तथा बागमती नदीपारि ललितपुरको कुपण्डोलसम्म पार्किङ गर्न बाध्य थिए ।

प्रहरी प्रमुख पाण्डेले निजी क्षेत्रका व्यवसायीभन्दा पहिला सरकारी निकाय जिम्मेवार हुनुपर्यो भन्ने सन्देश सर्वसाधारणमा प्रवाह होस् भन्ने उद्देश्यले विभागको ‘बेसमेन्ट’ खाली गराइएको बताउनुभयो ।

महानगरले खाली गराएको केही घण्टापछि नै राहदानी विभागले विज्ञप्ति जारी गर्दै सेवाग्राहीको पार्किङका लागि सो ‘बेसमेन्ट’ खुला गरिएको जानकारी दिएको छ । विज्ञप्तिअनुसार विभागले भदौ (१२) देखि पार्किङ खुला गर्नेछ ।

यसैबीच महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा महानगरको अभियानबारे बोल्नुहुँदै “चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस्,” भन्नुभएको छ ।

उहाँले अगाडि भन्नुभएको छ, “अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सधैं रहनेछ । हामी पुनः अनुरोध गर्दछौँ, कृपया नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।”

महानगरका अनुसार ३२ वटै वडामा भूमिगत पार्किङको अनुगमन भइरहेको र सोहीअनुसार अभियान सुरु गरिएको छ । महानगरपालिकाले अनुगमनको जिम्मेवारी सम्बन्धित वडा कार्यालयलाई दिएको छ ।

पार्किङका लागि बनाएको भूमिगत तलालाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने करिब तीन सय भवन कारबाहीको सूचीमा रहेका छन् ।

पार्किङसहितको नक्साअनुसार निर्माण भएका भवनमा पार्किङ सञ्चालन आएको अवस्थामा महानगरभित्रको २५ प्रतिशत पार्किङको समस्या समाप्त हुने महानगरको भनाइ छ ।

महानगरको अवैध संरचना भत्काउने अभियान भने आज शनिबार पनि जारी छ । शनिबार शनिबार वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।

महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा रहेका छ्न् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको पाण्डेले बताउनुभयो ।

महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्‍याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.