राजनीति

बालेनलाई वाईसीएलको साथ, पछि नहट्न सुझाव

काठमाडौं महानगरमा बनेका अवैध संरचना भत्काउने अभियानमा लागिरहनुभएका महानगरपालिकाका प्रमुख बालेन साहको कदमको केही राजनीतिक दलले बिरोध गरिरहेका छन् भने केहीले साथ दिइरहेका छन् ।

यसरी साथ दिनेमा पूर्व राजा ज्ञानेन्द्रदेखि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री रामकुमारी झाँक्रीसमेत रहनुभएको छ । त्यस्तै आम नागरिकबाट पनि ठूलो साथ पाउनुभएका बालेनलाई अब पछि नहट्न सुझाव दिइएको छ ।

काठमाडौंको न्यूरोडका घर टहरा भत्काउँदा चुँ नबोलेका नेताहरु वानेश्वरमा पार्टी नेता निकटका घर भत्काइएपछि बालेनलाई तथानाम गाली गर्न थालेका छन् । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले त बालेन अराजक भएको टिप्पणी गर्नुभयो ।

त्यस्तै एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले अल्फा बिटा भवनको अवैध संरचना हटाएपछि बालेनलाई अति तुच्छ किसिमले आलोचना गर्नुभयो भने एमालेकै प्रदीप ज्ञवाली, कांग्रेसका धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरिरहेका छन् ।

यसबीचमा नेकपा माओवादी केन्द्रको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल)का सुबोध शेर्पालीले बालेनको कदमको स्वागत गर्दै आफूहरुको पूर्ण साथ रहने प्रतिबद्धता जनाउनुभएको छ ।

सामाजिक संजालमा शेर्पालीले लेख्नुभएको छ- “काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा अनाधिकृत ढङ्गले संचालनमा ल्याइएको साथै राज्य कोषमा कर छलिगरी ब्यबसाय संचालन गर्दा सप्रमाण सहित भवन, टहरा, एवं केही पार्किङ स्थलहरू भत्काइएकोमा एकाथरि मनुवाहरूको निद्रा बिग्रेको छ । मेयर बालेन्द्र साहको पछिल्लो यो कार्य स्वागतयोग्य छ । “

“केही गर्छु भन्ने अठोट गरि जनताबाट स्वतन्त्र रुपमा निर्वाचित भएका यो व्यवस्थाभित्र फुलेका फुल निमोठ्ने खालको अभिव्यक्ति र धम्की कसैले नदिए हुन्छ । मेयर ज्यु अघि बढ्नुहोस् आफ्नो वा पराई कोहि नभनी सधैं जनता एवं राज्यको भौतिक सम्पतिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिका बिरुद्द जनमतको साथ लिएर लम्कनुहोस अवस्य पनि सफलता मिल्नेछ । शक्तिको आडमा बसेर कानुन विपरीत मनपरी गर्ने छुट कसैलाई पनि छैन । हुनु पनि हुँदैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.