बिचार

कुलमानको कुशलताको खाँचो छ अर्को संस्थानलाई

यादब देवकोटा

देशमा हुनैपर्ने, जिम्मेवारी लिएकाले गर्नैपर्ने काम गर्दा पनि हामी अत्यधिक खुसी हुन्छौं, यसको कारण पदीय दायित्व लिएकाहरु भकारी भर्न हैन रित्याउन लागिपरेकाले हो । अहिले यस्तै स्थिति छ । कसैले केही नगर्दा एकाध पदीय जिम्मेवारी लिएका व्यक्तित्वले पद र जिम्मेवारी इमान्दार ढंगले निर्वाह गर्दा हामी उसलाई देवतुल्य मानिरहेका छौं । यसको कारण बदमासै बदमासहरुको भीडमा उदाएको एउटा असल मान्छे नै हो र त्यो असल मान्छे कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा उदायो र १८ घण्टाको लोडसेडिङ अन्त्य गरी उज्यालो दिलायो ।

कुलमानको कार्यकाल भदौको अन्त्यसंगै समाप्त हुँदैछ र उनलाई पुनः सोही पदमा वहाल गर्न जनदवाव बढिरहेको छ । सरकारले चासो दिएको छैन । र धेरैको आशंका के छ भने कुलमान त्यहाँबाट हट्नासाथ पुनः लोडसेडिङ हुने त हैन भन्ने । तर सबैले बुझ्नुपर्ने कुरा के हो भने अब विद्युत प्राधिकरणमा जो जान्छ उसले कुलमानको पदचाप पच्छ्याउनैपर्छ, नत्र जनताले सडकमै सडाइदिन्छन् ।

कुलमान जस्ता कुशल व्यवस्थापक, असल चरित्र र देश र जनताका लागि मरिमेटेर खट्ने व्यक्ति प्राधिकरण जस्तै कंगाल भएका निकायलाई चाहिन्छ । अब प्राधिकरण वार्षिक ११ अर्ब रुपैयाँ नाफामा जाने बनाइदिए कुलमानले भने अब उनी त्यस्तै अर्को निकायमा जाँदा कसो होला ?

यो लेखको आशय कृपया कुलमानको बिरुद्धमा लेखिएको नठान्नु होला, सरकारले कुलमानलाई अब प्राधिकरणबाट नेपाल वायुसेवा निगमको कार्यकारी निर्देशक बनाएर पठाए सो निकायले पनि विगतको छवी फिर्ता ल्याउँथ्यो कि ? निगमको हाल कूल सम्पत्ति रु ५४ अर्ब १७ करोड रहेको छ भने रु ४५ अर्ब ९४ करोड ऋण रहेको छ । निगमको खुद सम्पत्ति रु आठ अर्ब २३ करोड मात्र रहेको छ । झण्डै आधा खर्ब रुपैयाँ ऋण बोकेका निगमलाई कुलमान चाहिएको छ कि छैन ?

कुलमानको कामले हाम्रा नेता, मन्त्री, उच्च प्रशासकहरुले कहिल्यै सिक्न चाहेनन् त्यसैले बिरालोले मुसा मार्यो भनेर दंगदास छौं । किनभने बिरालोले मुसा मार्यो भने त्यो आश्चर्य हुँदैन, तर मुसासंग दोस्ती गरेर भकारी रित्याउन सघायो भने त्यो आश्चर्य र अनिष्ट हुन्छ । नेपालमा भएको त्यही हो । त्यसैले विद्युत उत्पादन, वितरण र जनतालाई उज्यालो दिने निकायमा पुगेका कुलमानले त्यही काम गर्दा हामी उनलाई देवत्वकरण गर्न बाध्य छौं । यो नेपाली जनताको निरीहताको परिणाम हो । झण्डै ११ वर्षसम्म अन्धकार भोगेका जनतालाई एकाएक उज्यालो दिए कुलमानले, उनले खल्तीबाट विजुली झिकेनन्, भएको स्रोत, जनशक्ति प्रयोग गरेर व्यवस्थापन गरे । अरुले इन्भरर्टर र जेनेरेटर माफियाबाट कमिशन खाएर लोडसेडिङ बढाए, कुलमानले त्यो हटाए । त्यसैले उनी नेपाली जनताको हृदयमा बसे ।

केही नभएको, केही नहुने, केही गर्छु भन्नेले आफ्नै लागि मात्र गर्ने देशमा कुलमान उज्यालोका कुलदेवताका रुपमा स्थापित भए । हामी धन्य छौं कुलमान जस्ता असल प्रशासक र प्राविधिक पाएर तर कुलमानकै जस्तो पढेका, जानेकाहरुले किन गरेनन् ? यसै भएर कुमानको वाहवाही भएको हो ।

फेरि बिरालो र मुसाको सन्दर्भ, प्राकृतिक नियम अनुसार बिरालोले मुसा मार्न छाड्यो भने बिरालोको अस्तित्व सकिन्छ । त्यस्तै तोकिएको जिम्मेवारी पूरा गर्न सकेन भने कुनै ओहदामा बसेको मान्छे असक्षम हुन्छ, उ त्यो जिम्मेवारीबाट मुक्त हुन्छ र हुनुपर्छ । तर, नेपालमा त्यस्तो छैन । जतिसुकै नालायक भए पनि उनीहरु टिकिरहेका छन् । हामीले नेता मानिरहेका छौं । मुसामार्न छोडेर मुसासंगै दोस्ती गरेर भकारी रित्याउने बिरालोबाटै आश गरिरहेका छौं । उसलाई बिरालो नै भनिरहेका छौं ।

जनताले विकास होस्, समृद्धि आओस् शान्ति सुरक्षा कायम होस् भनेर नेता चुनेर पठाउँछन्, तर उनीहरु आफ्नै समद्धिमा केन्द्रित हुन्छन् । जनताको समृद्धि भगवान भरोसा, विकास उनीहरुकै परिवारको मात्रै हुन्छ, शान्ति उनीहरुको घरमा मात्रै छाउँछ । देशरुपी भकारीको वरिपरी बसेर मुसाहरुसंग दोस्ती गरेर भकारी रित्याउनेहरुको शिकार बनेका हामी नेपालीहरुका लागि कुनै एउटा बिरालोले मुसा मार्यो भने त्यो आठौं आश्चर्य हुने गरेको छ ।

मुसा मार्ला, भकारीको धान जोगाउला भनेर दूध खुवाएर पालेको बिरालो मुसासंग दोस्ती गर्न थाल्यो भने घरमालिकको के हाल होला ? अहिले नेपाली जनताको त्यस्तै हाल भएको छ ।

त्यसै भएर त कुनै एउटा मन्त्री, सचिव, निर्देशक वा प्रहरी अधिकृतले केही राम्रो कामको संकेत मात्रै दियो भने हामी तीन हात उफ्रिएर उसको पक्षमा नारा लगाउँछौं । यो नपाली जनताको सकारात्मक कामको प्रतिक्षाका परिणाम हो । कुलमानले गरेको काम त्यही महान सकारात्मक काममध्येमा पर्दछ जसले उनलाई नेपाली जनताका माझ चम्किलो हिरा बनायो ।

निश्चय नै बदमासको भीडमा कसैले राम्रो काम गर्दा हामीमा उत्साह पैदा हुन्छ, अब त केही हुन्छ कि भनेर अनि हामी उसको जयजयकार गर्छौं । कारण यसअघि त्यस्तो गर्ने कोही थिएनन् । अब धेरैले धेरैकुरा सिकिसकेका छन् । एउटै व्यक्तिलाई एउटै निकायमा लामो समय राख्दा उसले प्राप्त गरेको देवत्वकरण राक्षयसिकरण पनि हुनसक्छ ।

वर्तमान प्रधानमन्त्री केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको जसरी सामना गरे त्यसको परिणाम उनी राष्ट्रिय हिरो बने । अहिले त्यही ओली दुई तिहाई मतको हाराहारीबाट प्रधानमन्त्री छन् तर जनताका नजरमा जीरो । कुलमानको हकमा त्यस्तो नहोस्

तसर्थ कुलमानलाई अब विद्युत प्राधिकरणबाट टाट पल्टन लागेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जिम्मेवारी सुम्पिनु जायज होला । यो देशको आवक्यकता पनि हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.