पदावधि एक वर्ष बाँकी रहँदै प्रधानमन्त्री आबेद्वारा राजीनामा- कारण यस्तो छ
विगत आठ वर्षदेखि लगातार जापानको सत्ता सम्हालिरहनु भएका प्रधानमन्त्री शिन्जो आबेले पदबाट राजीनामा दिनुभएको छ । केही महिनायता स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँले पदावधि सकिनु एक वर्ष बाँकी रहँदा नै शुक्रबार राजीनामा दिनुभएको हो ।
जापानी सरकारी समाचार संस्था एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्दै राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा पनि उहाँले सोही कुरा बताउनुभएको थियो । पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो- “आफूले जनताको लागि राम्रा निर्णय गर्न सकिनँ भने प्रधानमन्त्री बन्न सक्दिनँ । त्यसैले पदबाट राजीनामा दिने निर्णय गरें ।”
यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिनुभएको थियो । स्वास्थ्यमा समस्या भएपछि सार्वजनिक काममा कमै देखिनुभएका प्रधानमन्त्री आबेले पदत्याग गर्ने मनस्थितिमा पुनेको सत्तारुढ दलले पुष्टि गरेको थियो ।
सन् २०१२ देखि निरन्तर देशको कार्यकारी रहनुभएका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुनुहुन्छ ।पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या भएको अड्कल गरिएको थियो ।