जन सरोकार

बलात्कारका मुद्दामा बयान फेरिँदा पीडक र पीडित छुट्याउनै मुस्किल

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बलत्कारजस्तो जघन्य मुद्दामा पटक–पटक बयान फेरिँदा पीडित र पीडक नै छुट्याउनका लागि समस्या हुने गरेको बताउनुभएको छ ।

दोलखाको चरीकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसमा आज सर्वोच्च अदालतद्वारा आयोजित विद्यार्थीमाझ अदालत कार्यक्रममा बोल्नुहुँदै कामु प्रधानन्यायाधीश कार्कीले कतिपय बलात्कारजस्तो संवेदनशील मुद्दामा महिलाले प्रहरी र अदालतमा फरक–फरक बयान दिँदा पीडित र पीडक छुट्याउनै मुस्किल हुने गरेको बताउनुभयो ।

कामु प्रधानन्यायाधीश कार्कीले विधार्थीसँगको कार्यक्रममा भन्नुभयो, “यस्ता जघन्य घटनालाई सबैले निरुत्साहित गर्नुपर्छ । अपराधी छ भने त्यसले कठोर सजाय पाउनैपर्छ ।”

अदालतले गरेका राम्रा कामको सम्मान र नराम्रा कामको खबरदारी गर्नु सबै नागरिकको दायित्व रहेको उहाँले बताउनुभयो । “अदालतमा राम्रो काम भएको छ भने त्यसलाई तपाई समर्थन गर्नुस्, अदालतको विषयमा प्रश्न आउँछ भने सचेत नागरिकको हैसियतले त्यसमा औँला ठड्याउनैपर्छ”, कार्कीले भन्नुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालले कानुनको सामान्य जानकारी, न्याय निरुपणमा अदालतको भूमिका, अदालती प्रक्रियालगायतको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, दोलखा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, गौरीशङ्कर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्तबहादुर केसीलगायतले कानुन र अदालतका विषयमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो ।

दोलखा जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस गौरीशङ्कर बहुमुखी क्याम्पसमा सर्वोच्च अदालतले विद्यार्थीमाझ अदालत कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा गौरीशङ्कर बहुमुखी क्याम्पस तथा विभिन्न क्याम्पसका विद्यार्थीको सहभागिता थियो । विद्यार्थीमाझ अदालत कार्याक्रममा भाग लिनका लागि दोलखा आउनुभएका कायममुकायम प्रधानन्यायाधीश कार्कीले दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको दर्शनसमेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.