आबेको राजीनामापछि भावी प्रधानमन्त्रीका लागि आधा दर्जन नेताको दावेदारी
स्वास्थ्यका कारण प्रधानमन्त्री शिन्जो आबेले पदबाट राजीनामा दिने घोषणा गरेपछि जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) मुलुकको भावी प्रधानमन्त्री चयनमा जुटेको छ । भावी प्रधानमन्त्रीका लागि पार्टीका नेता, वहावलावा मन्त्रीसहित आधा दर्जनले उम्मेदवार बन्ने चाहना देखाएको एनएचकेको समाचारमा जनाइएको छ ।
आगामी मंगलबार हुने एलडीपीको महासमिति बैठकमा आधिकारिक रुपमा भावी नेताको चयन गर्ने विषयमा निर्णय हुनेछ । सोही निर्णय अनुसार पार्टी नेता पदका लागि कहिले र कसरी चुनाव गर्ने भन्ने पनि निर्णय हुनेछ ।
पार्टीका नीति प्रमुख फुमिओ किशिदाले भावी नेताको पदभार लिने चाहना व्यक्त गर्नुभएको छ । उहाँले शुक्रबार पार्टीको आगामी नेताका लागि उम्मेदवारी दिन आफू दृढ रहेको बताउनुभयो । उता एलडीपीका पूर्व महासचिव शिगेरु इशिबाले यदि किशिदाले २० सांसदको अनिवार्य भोट प्राप्त गरेमा उहाँ चुनावमा भाग लिन सक्नुहुनेछ ।
त्यसै गरी पूर्व आन्तरिक मामिला मन्त्री सेइको नोदा र रक्षामन्त्री कोनो तारोले पनि चुनावमा भाग लिने चाहना व्यक्त गर्नुभएको छ भने विदेशमन्त्री तोशिमित्सु मोतेगी तथा एलडीपीको चुनाव रणनीति प्रमुख हाकुबुन शिमोमुराले पनि पार्टीका आफ्ना सहयोगीसंग चुनावी मैदानमा खडा हुने विषयमा छलफल गर्ने बताउनुभएको छ ।
त्यसै गरी मन्त्रिपरिषदका मुख्य सचिव योशिहिदे सुगाले पनि उम्मेदवारी दिनसक्ने सम्भावना पार्टीका केही सदस्यहरुले बताएका छन् ।