जन सरोकार

तीजमा धार्मिक, सांस्कृतिकभन्दा खानपान र मनोरञ्जन हाबी

तीज पर्वमा धार्मिक र सांस्कृतिक पक्षभन्दा खानपान एवं मनोरञ्जनको पक्ष हाबी हुन थालेको छ । दुई महिना अघिदेखि नै दर खान थालेदेखि नै खानपानको पक्ष हावी हुन थालेको संस्कृतिविद् डा वीणा पौडेल बताउनुहुन्छ । दर खाने परम्परा धर्म, संस्कृतिसँग जोडिएर सुरु भएकामा अहिले दरका नाममा खानपानलाई नै महत्व दिइएको छ ।

“धर्मशास्त्र अनुसार भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने हो, दरमा मांस, मदिराको प्रयोग गरिनु हुँदैन, व्रतको तीन दिनअघिदेखि नै मांस, मदिराको प्रयोग गर्नु धर्म, संस्कृतिका दृष्टिले गलत छ”, उहाँले भन्नुभयो ।

दुई महिनाअघिदेखि आयोजना गरिने दर कार्यक्रम विभिन्न समूहको प्रायोजनमा हुने गरेको छ । दर कार्यक्रम राख्नुको उद्देश्य विज्ञापन गर्नु देखिएको संस्कृतिविद् पौडेल बताउनुहुन्छ । पछिल्लो समय दर कार्यक्रम आयोजना गर्नेमा राजनीतिक दल, तिनका भ्रातृ संस्था, अन्य सामाजिक संस्था र व्यापारिक प्रतिष्ठान पनि छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकिएकाले दलका गतिविधि बढेका छन् । दल र तिनका नेताले तीजलाई कार्यकर्ता परिचालन गर्ने अवसरका रुपमा उपयोग गरेका छन् । कति नेताले त टिकट माग्न दबाब सिर्जना गर्ने उद्देश्यले पनि तीजको दर खाने पर्वलाई उपयोग गरेको देखिन्छ ।

“दल र सामाजिक संस्थाले आयोजना गर्ने दर कार्यक्रमलाई सामाजिक विषयमा चेतना जगाउनेरुपमा उपयोग गर्दा राम्रो हुन्थ्यो, स्वास्थ्य, वैदेशिक रोजगार, बचत गर्ने बानी बसाल्ने जस्ता समसामयिक विषयमा यस्ता कार्यक्रममा चेतनामूलक प्रस्तुति राखेर दर खुवाए राम्रो हुने थियो”, संस्कृतिविद् पौडेलले भन्नुभयो ।

गहना पसल र व्यापारिक कम्पनीले पनि तीजका अवसरमा दर खुवाएर विज्ञापन गर्ने गरेका छन् । सहरी क्षेत्रमा तीज पर्व यसरी विकृतिमय बन्न पुगेको छ । गाउँमा भने अझै तीज पर्वको मौलिकता कायमै छ । गाउँमा माइती लिन आएपछि चेलीबेटी जान्छन् । चार दिनसम्म माइत बसेर पर्व मनाउनुका साथै भेटघाट एवं दुःख, सुखका कुरा गरेर फर्कन्छन् । यसले पारिवारिक पुनर्मिलनसँगै आपसी सद्भाव बढाउँछ ।

गाउँमा दर धर्मशास्त्रअनुसार भाद्र शुक्ल द्वितीयाकै दिनमात्र खाइन्छ । दरमा मांस, मदिराको प्रयोग पनि गरिँदैन । दूध र यसमा बनेका परिकार धेरै खाइन्छ । जसले भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नलाई आडिलो बनाउँछ । धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई व्रतको अघिल्लो रात ११ बजेसम्म मात्र दर खाने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको सुनाउनुहुन्छ ।

शास्त्रीय वचनअनुसार व्रत गर्नेले त्यसैअनुसार दर खानुपर्ने हो । तर तीज पर्वमा संस्कृतिभन्दा खानपान हावी भएकाले महिनौँअघिदेखि दर सुरु हुने गरेको छ । संस्कृतिविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ व्रत बस्नलाई दरिलो बनाउनकै लागि दर खाने संस्कृतिको सुरुआत भएको बताउनुहुन्छ ।

यसैले व्रतको अघिल्लो दिन खाइने दर नै वास्तविक हो । दुई महिनाअघिदेखि खाइने दर संस्कृतिका नाममा विकृति भएको उहाँको भनाइ छ । तीजको मौलिकता पनि माइती र छोरीबीचको सद्भाव हो ।

“महिलालाई स्वास्थ्यका लागि सचेत बनाउनकै लागि तीजको सांस्कृतिक महत्व छ, आफू निरोगी भएर श्रीमान्लाई आफूतिर आकर्षित गर्न शिव र शक्तिलाई आराधना गर्ने पर्व तीज हो, शारीरिक र आर्थिक प्रयोजनका लागि पनि श्रीमान्लाई आफूतिर आकर्षित गर्नु तीजको उद्देश्य हो”, उहाँले भन्नुभयो ।

धर्मसँग पृष्ठभूमि जोडिएको तीजको स्वरुप सहरी क्षेत्रमा बिग्रिएको छ । सहरी क्षेत्रका चेलीबेटी माइत गएर तीज मनाउनुभन्दा ठूलो होटल र पार्टी प्यालेसमा रमाउन थालेका छन् । परिवारभन्दा अन्य जमघटमा तीजको दर जम्ने गरेको छ ।

बीस वर्षसम्म एउटा घरमा हुर्किएकी चेली अर्को घरमा पुग्दा आइपरेका समस्या माइतीसँग साटेर बोझ हल्का गराउने अवसरका रुपमा यसलाई उपयोग गरिने परम्परा अब गाउँमा पनि कम हुन थालेको छ । जमघटकै अवसरमा ईश्वर वा प्रकृतिलाई कृतज्ञता ज्ञापन गर्नु पनि तीजको मौलिकता हो । त्यो मौलिकतामा क्रमशः ह्रास आउन थालेको छ ।

खेतबारीबाट अन्न आएपछि भगवान्लाई चढाएर खाने संस्कृतिमा हुर्किएजस्तै पारिवारिक मिलन र सुख, शान्तिको कामना गर्ने एवं विगत वर्षका इच्छा पूरा गरिदिएकामा कृतज्ञता ज्ञापन गर्ने संस्कृतिलाई गाउँ, सहर सबैतिर पुनर्जागृत गरिनुपर्ने संस्कृतिविद् पौडेलको भनाइ छ ।

“नेपाली समाजमा नाचगानका लागि डिस्को जान्छु भने बाबु, आमाले अनुमति दिँदैनन्, तीजमा मन्दिर गएर नाच्न रोक्दैनन्, धर्मका नाममा हुने व्यभिचार र भ्रष्टाचार बढी छ, तर यसतर्फ कसैको ध्यान गएन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.