जल/वातावरण

तीन सातासम्म रहन्छ १२ वर्षभन्दा कम उमेरका बालबालिकाको नाकमा कोरोना भाइरस

विद्यालय जाँदैगरेका बालबालिका (फाइल फोटो)

विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा बालबालिका तथा वृद्धवृद्धा र दीर्घरोगी रहेका र यसमा पनि १२ वर्षभन्दा कम उमेरका बालबालिका सबैभन्दा बढी जोखिममा रहेको पछिल्लो अनुसन्धानले देखाएको छ । संक्रमति सो उमेर समूहका बालबालिकाको नाकमा तीन सातासम्म भाइरस रहने देखाए पनि उनीहरु बिरामी पर्ने सम्भावना भने न्यून रहने तर अरुलाई संक्रमित गर्ने सम्भावना भने उच्च रहेको पाइएको छ । यद्यपि यो पक्षमा पनि विमति भने छन् ।

अनुसन्धानमा खटिएका रोयल कलेजको बाल चिकित्सा तथा बाल स्वास्थ्यका अध्यक्ष प्राध्यापक रसेल भिनरले बालबालिकालाई भाइरस लाग्ने कुरालाई नकार्न नसकिने भए पनि १२ वर्षभन्दा मुनिकालाई अन्य व्यक्तिहरूको तुलनामा भाइरसले कम असर गर्ने उनीहरूको रगतको एन्टिबडी परीक्षणबाट पुष्टि भएको बताउनुभयो ।

यसअघिका अध्ययनमा अधिकांश बालबालिकामा भाइरसका लक्षणहरू नदेखिने पत्ता लागेको थियो भने केहीमा मध्यम खालका लक्षणहरू देखिने जनाइएको थियो । हालै दक्षिण कोरियाका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको नाकमा तीन सातासम्म कोरोना भाइरस रहन सक्ने देखिएको छ । पछिल्लो अध्ययनका नतिजाले बालबालिकाबाट भाइरस बढी मात्रामा सर्ने तथ्य पत्ता लागेको छ ।

यो अध्ययनले कोरोना संक्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदमलाई अरु विस्तृत बनाएको छ । यसले बालबालिकाहरू विद्यालय जान थालेपछि सामाजिक दूरी कायम गर्न, गराउन तथा शारीरिक सफाइमा विशेष ध्यान दिनुपर्ने आवश्यकतालाई जोड दिएको छ । किनभने बालबालिकामा भाइरसको आक्रमण, त्यसका कारण हुने बिरामी र अरूलाई सार्ने जोखिम अन्य उमेरको भन्दा बढी रहेको छ ।

त्यस्तै बेलायतका वैज्ञानिकहरूको एक अध्ययनले पनि कोरोना भाइरस संक्रमित बालबालिकाहरू अन्य संक्रमितहरूको तुलनामा कम बिरामी पर्ने भए पनि उनीहरुको नाकमा तीन सातासम्म भाइरस क्रियाशील रहने देखिएकाले तीन सातासम्म अन्य व्यक्तिलाई भाइरस सार्न सक्ने जनाइएको छ । उक्त अध्ययन ९१ जना संक्रमित बालबालिकाहरूमा गरिएको बीबीसीले उल्लेख गरेको छ ।

यसका आधारमा उक्त अध्ययनले बालबालिकाहरू भाइरसको वाहक रहेको नयाँ तथ्य सार्वजनिक गर्न सकेको हो । तर अन्य अध्ययनले जस्तै यसले पनि केही प्रश्नहरू अनुत्तरित नै छाडेको छ । बालबालिकाको नाकमा भाइरस हुनुको अर्थ त्यतिबेला नै उनीहरूले अन्य व्यक्तिहरूलाई सार्छन् भन्ने कुराको भने कुनै प्रमाण भने देखिँदैन ।

त्यसो त १२ वर्षभन्दा कम उमेर समुहका बालबालिकामा संत्रमण भए पनि बिरामी हुने सम्भावना कम भएको र उनीहरुको नाकमा तनिसातासम्म भाइरस रहने हुँदा अरुलाई संक्रमित गर्नसक्ने भनिए पनि यसमाा अनुसन्धाताहरुको एक मत छैन । अमेरिकाको वासिङ्टन डीसीस्थित एक अस्पतालका बालरोग शाखाका प्रमुख डा. रोबर्ट डिबियासीका अनुसार भाइरस संक्रमणमा बालबालिकाको कुनै भूमिका हुँदैन भन्नु तर्कपूर्ण छैन ।

डिबियासीको भनाइमा सामान्यतः लक्षणहरू कम देखिएका वा नदेखिएका जुनसुकै उमेर समूहका संक्रमितहरू भए पनि तिनीहरूले खकार र सिँगान निकाल्दैनन् । त्यस्ता संक्रमितले अन्यलाई भाइरस सार्ने सम्भावना निकै न्यून हुन्छ ।

त्यस्तै बेलायतको लिभरपुल विश्वविद्यालयका प्राध्यापक कालुन सेम्पलले ‘यथेष्ट खकार र सिंगान निस्कने संक्रमितको तुलनामा लक्षण नदेखिएकाहरूबाट भाइरस सर्ने सम्भावना निकै कम’ रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.