जन सरोकार

केही दिनको वर्षाले चार हजार ५०० घर डुबानमा- आजदेखि मनसुन कमजोर हुँदै

केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको मृत्यु भएको र पाँचजना घाइते भएका जनाएको छ । उक्त अवधिमा ४२ घर पूर्ण क्षति भएको तथा सात सय ५६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो वर्षाबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

प्राधिकरणले नेपालमा अधिकांश भेगमा वर्षा भएको र तराईको केही जिल्लामा डुबान तथा पहाडी क्षेत्रमा पहिराका घटना भइरहेको जनाएको छ । मुख्यगरी भारी वर्षाका कारण धेरै क्षेत्रमा जनजीवन प्रभावित हुन पुगको छ । अझै १५ गतेसम्म नै वर्षाको सम्भावना भए पनि आजदेखि भने केही घट्ने अनुमान गरिएको मौसम विज्ञान विभागले जनाएको छ । आज मात्रै विषयगत क्षेत्रमा सरकारी निकाय, सहयोगी तथा सरोकारवाला निकायको बैठक बसी जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समन्वयात्मक रूपमा अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

खोज, उद्धार तथा आश्रयस्थल तथा खाद्यान्न व्यवस्थापनमा स्थानीय तहसँगको समन्वयमा काम भइरहेको जानकारी गराइएको छ । खानेपानी सरसफाइ, प्राथमिक स्वास्थ्य सेवाका लागि समन्वयात्मक रूपमा अघि बढ्ने निर्णय पनि भएको छ । आवास पुनर्निर्माण तथा पुनस्र्थापनका लागि यसअघि जारी भएको कार्यविधिअनुसार अघि बढेको जनाइएको छ ।

विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुर्ई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.