कर्पोरेट/पर्यटन

चिटिक्क परेको विमानस्थल हेरेरै चित्त बुझाउँदैछन् गुल्मीबासी

करोडौंको लगानीमा पाँच वर्षअघि नै निर्माण सम्पन्न भएको गुल्मीको सिमीचौर विमानस्थल अझै संचालनमा आएको छैन । स्थानीय विमानस्थल हेरेरै चित्त बुझाउन बाध्य छन् ।

३३ करोड रुपियाँभन्दा बढी लगानीमा सम्पूर्ण पूर्वाधार तयार भएर रङरोगन गरिसकिएको यो विमानस्थलमा आजभोलि हवाईजहाज हैन मानिसहरु घुम्न आउने गरेका छन् ।

विमानस्थल संचालनमा नहुँदा निर्माण भएका पूर्वाधार बिग्रिने अवस्थामा पुगेका छन् । स्थानीय बासिन्दा भने कहिले जहाज आउँछ भनेर प्रतीक्षा गरेर बसेका छन् ।

विमानस्थलको धावन मार्ग कालोपत्रे गरेर रङरोगनले चिटिक्क बनेको छ । विमानस्थल अवलोकनका लागि जिल्ला र बाहिरबाट समेत दैनिक सयौँ व्यक्ति पुग्छन् ।

विमानस्थलबाट गुल्मी, पाल्पा तथा अर्घाखाँचीका दृश्यावलोकन गर्न सकिने भएकाले अहिले सो विमानस्थल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ ।

विमानस्थलको संरक्षण हुन नसक्दा कन्ट्रोल टावरको सिसा फुटिसकेको छ । करोडौँ खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति हुन थालेकोे छ । विमानस्थलजस्तो संवेदनशील ठाउँमा निर्माणदेखि नै सुरक्षा हुनुपर्ने भए पनि बनेका संरचना तोडफोड हुँदासम्म राज्यको ध्यान नपुग्नु विडम्बना भएको स्थानीयवासीको गुनासो छ ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि २०७६ चैत ४ गते चार करोड पाँच लाख २९ हजार रुपियाँमा ठेक्का सम्झौता भएको हो । निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले आफूहरूले सम्झौताअनुसार काम गरेर बुझाएको बताउनुभयो ।

गत असारमै विमानस्थल आयोजनाका कर्मचारी फिर्ता भइसकेका छन् । आयोजनाले विमानस्थलमा नियमित उडान नहुने बेलासम्म संरक्षणका लागि वडा कार्यालय, रेसुङ्गा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

रेसुङ्गा नगरपालिकाबाट एक नगर प्रहरी विमानस्थलमा खटाइएको १० दिनपछि आफूहरू फर्किएको आयोजनाका इन्जिनियर दिनेश परियारले बताउनुभयो । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विमानस्थलको सुरक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
विमानस्थल धावन मार्गको ५२० मिटर लम्बाइ र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा विमानस्थल छ । विमानस्थल निर्माणका लागि मुआब्जा दिने गरी १४ घरबस्ती विस्थापित र २८ घरपरिवारको जग्गा अधिग्रहण गरिएको छ ।

यो विमानस्थलमा २०७५ साल जेठ २५ गते तारा एयरले सफल परीक्षण उडान गरेको थियो तर अहिलेसम्म व्यावसायिक उडान हुन सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले दुर्गममा उड्ने जहाजको सङ्ख्या नै कम भएका कारण नियमित उडान गर्न नसकिएको बताउनुभयो । निजी विमान सेवा कम्पनीले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।

यो वर्ष रेसुङ्गा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उहाँले निजी कम्पनीसँग नियमित उडानको विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.