अर्थ

प्रहरीलाई झण्डै आठ अर्ब बजेट, म्यादीका लागि मात्र ५ अर्ब ८६ करोड

आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सुरक्षा बन्दोबस्तका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख दुई सय बजेट प्राप्त भएको छ।

प्राप्त बजेटमध्ये म्यादी प्रहरीका लागि रु पाँच अर्ब, ८६ करोड, ३९ लाख ५० हजार र नेपाल प्रहरीका लागि रु एक अर्ब २३ करोड ५० लाख ९९ हजार २०० छुट्याइएको छ ।

प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले बजेट अर्थ मन्त्रालयबाट उक्त बजेट स्वीकृत भएर आएको जानकारी दिनुभयो ।

निर्वाचनका लागि ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । यसपटक स्थानीय तहको निर्वाचनमा भन्दा २५ हजार बढी नेपाल प्रहरी तथा म्यादी प्रहरी थप गरिने भएको हो । जसमा १५ हजार म्यादी प्रहरी थपिने छन् ।

निर्वाचनका समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् ।

उक्त भत्ता सिपहीका हकमा प्रतिव्यक्ति प्रतिदिन रु एक हजार दुई सय हुनेछ। अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ। उनीहरूले निर्वाचनको मुख्य चार दिन प्रतिदिन रु तीन सयका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन्।

नेपाल प्रहरीले निर्वाचन प्रयोजनार्थ कुल एक सय ८० वटा गाडी (सवारीसाधन) खरिद गर्ने भएको छ । प्रहरीले निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारीसाधन माग गरेको थियो । अर्थ मत्रालयबाट गाडी खरिदका लागि रु ७५ करोड बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ।

प्रहरीले बढीमा रु ५० लाखसम्मका गाडी खरिद गर्न पाउनेछ । सोही आधारमा एक सय ८० वटा गाडी खरिद गर्न लागिएको डिआइजी थापाले जानकारी दिनुभयो।

निर्वाचनमा कुल दुई हजार सात सय ९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको छ। निर्वाचनको १२ दिनका लागि एक हजार ५० गाडी भाडामा लिन स्वीकृत प्राप्त भएको छ । भाडाका लागि प्रतिदिन रु १० हजार रकम छुट्याइएको छ । बाँकी अपुग गाडी मर्मत गरेर चलाइनेछ।

सबै निर्वाचन सुरक्षा योजनाअनुसार परिचालन हुने भएकाले थपघट हुनसक्ने थापाले जानकारी दिनुभयो। यसपालि प्रहरीले १० हजार लठ्ठी खरिद गर्दैछ। प्रतिलठ्ठी रु दुई सयका दरले खरिद गर्ने जनाइएको छ।

प्रहरीले सात सय बढी सञ्चार सेट तथा आवश्यक हातहतियारको माग गरे पनि उपलब्ध नहुने भएपछि हतियार बहालगिरीमा प्रयोग गर्ने भएको छ। हाल चालु रहेका सेटसहित अपुग भएमा मोबाइलबाटै सञ्चार सेटको काम गरिने छ।

सरकारले निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । उनीहरूका लागि कुल रु पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ । कुल ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर झण्डै रु ५० हजार हाराहारी तलब प्राप्त गर्नेछन् । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।

म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तिमा रु ४९ हजार दुई सय ६० तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ ।

म्यादी प्रहरीले तलब मात्रै रु ३४ हजार सात सय ६० प्राप्त गर्नेछन् । त्यसका अलावा रासनवापत रु सात हजार २०० पाउने छन्। तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्ने हुँदा केही थपिने छ।

पोशाकका लागि रु छ हजार रुपैयाँ पाउने छन्। यसमा पनि हिमाली जिल्लामा खटिनेले ९ज्याकेट खरिद० मा रु एक हजार थप पाउनेछन्। हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ।

यस्तै आवतजावत भाडा खर्च रु एक हजार दिइनेछ। खाजा खर्च चार दिनको प्रतिदिन रु तीन सयका दरले पाउनेछन्। यो खर्च भने सबै प्रहरीले पाउनेछन्। आगामी असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.