जन सरोकार

अनियमित विद्युतका कारण वितरित इण्डक्सन चुल्हो प्रयोगविहीन

रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ । वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ ।

विद्युत्को समस्या खेपिरहेको कोटहीमाईमा दुइ हजार दुई सय वाट क्षमताको उच्च पावरयुक्त चुल्हो वितरणपछि निकै आलोचना हुन थालेको छ । स्थानीयवासी तारा पासीले चुल्हो देखाउँदै बिजुलीको ‘लो भोल्टेज’ समस्याका कारण जाँच्न नपाएको बताउनुभयो ।

बोरामा प्याक गरी थन्क्याएर राखिएको सो विद्युतीय चुल्हो देखाउँदै पासीले भन्नुभयो, “एक त घरमा बिजुलीको समस्या छ, अर्काको घरमा सवमिटर हालेर बिजुली ल्याएकी छु । त्यसमाथि यति उच्च पावरको चुल्हो र सोका लागि छुट्टै बर्तन किन्नुपर्ने हुँदा हाम्रा लागि उपयोगी छैन ।”

फुसको छानो भएको एक कोठेघरमा परिवारसँग बस्दै आएकी ताराले छिमेकी कहाँबाट सवमिटर जडान गरी घरमा दुई बल्ब, एक पङ्खा र मोबाइल चार्ज गर्नेसम्मको व्यवस्थापन गर्नुभएको हो । “पङ्खासम्म चल्न नसक्ने स्थितिमा इन्फ्रारेड कुकरको त कामै छैन”, उहाँले भन्नुभयो ।

छिमेकी अदालत यादवको भनाइ पनि ताराको जस्तै छ । उहाँले चुल्हो पाएदेखि घरमा रहेको भकारीमाथि थन्क्याउनुभएको छ । विद्युत्को समस्या सुनाउँदै उहाँले भन्नुभयो ,“‘गर्मीले बेहाल छौँ, एक सय २० वाटको पङ्खा त राम्रोसँग चल्दैन यो उच्च पावरको चुल्हो जलाउन त सम्भव नै छैन ।”

“कुनै दिन काम देला भनेर वडा कार्यालयले निःशुल्क बाँडेपछि चुल्हो ल्याएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “बिजुली र पङ्खा वापतको रु दुई सय तिर्न नसक्नेलाई यसको व्यवस्थापन गर्न गाह्रो छ ।

चुल्होको सट्टा कुनै काम लाग्ने कृषि सामग्री दिएको भए हुन्थ्यो ।” पासी टोलकी ज्ञानमति पासीको श्रीमान्ले चुल्हो ल्याएर जाँच्नुभयो । घरमा रहेको गोलाकार पिँध भएको भाँडो राख्न खोजेपछि चुल्होमा बसेन ।

छुट्टै भाँडो खरिद गर्नुपर्ने पैसाको व्यवस्थापन गर्न उहाँको सामथ्र्य छैन । ज्ञानमतिसँगै रहेकी स्कुले बालिका मनिता यादवले बुबाले ल्याएको चुल्हो जाँच्दा नचलेपछि वडामा फिर्ता गर्न लग्दा फिर्ता पनि नभएको गुनासो गर्नुभयो ।

खाना पकाउने समयमा १० मिनेट मात्र बत्ती गयो भने पनि खाना बिग्रिने भएकाले यसमाथि भरोसा गर्न सकिने स्थिति नरहेको विद्युतीय चुल्होका जानकार जनार्दन बनियाले बताउनुभयो ।

“कोटहीमाई–७ मात्रै होइन, मर्चवारका अधिकांश जसो विद्युत् ग्राहकको घरमा रहेको विद्युतीय पूर्वाधार पनि इन्फ्रार्रेड कुकर चुल्होका लागि चाहिने बिजुलीको खपत धान्न सक्ने खालको छैन ।”

“इन्फ्रारेडको लोड धान्न सक्ने गरी यहाँका अधिकांश ग्राहकले लाइन स्तरोन्नति गरेका छैन”, नेपाल विद्युत् प्राधीकरण मर्चवार शाखाका एक कर्मचारीले भन्नुभयो, “बिहान–बेलुका एकसाथ यसको प्रयोग बढ्दा प्रणालीले थेग्न नसकेर तार, ट्रान्सर्फमर, फिडर र ११ केभीका लाइन पड्किने, जल्ने समस्या हुनसक्छ ।” अव्यवस्थित प्रणाली त्यसमा पनि कम एम्पिएरका लाइन जोडिएकाले समस्या हुने देखिन्छ ।

त्यसै गरी दुवे कटया बस्ने रामउजागिर यादवले भन्नुभयो, “किसानहरू सिँचाइको समस्याले पीडित छन् । लो भोल्टेजका कारण कृषि मोटर र घरको पङ्खा चल्न सकेको छैन । यस्तो अवस्थामा हाइ भोल्टेजको विद्युतीय चुल्हो चल्ने सम्भावना नै छैन ।”

सिँचाइका लागि मोटर र कृषि मिटरको व्यवस्थापनको सट्टा कमिशन र मतदाता लोभ्याउने चक्करमा पुरानो वडा समितिले खरिद गरेको विद्युतीय चुल्हो खरिद गरी अहिले वितरण गरिएको उहाँको आरोप छ ।

गाउँपालिकाले गत वैशाख १२ गते श्री बालाजी ट्रेडिङ सिद्धार्थनगर रुपन्देहीसँग रु ३६ लाख ९९ हजार छ सय ७६ मा खरिद गरेको एक हजार एक सय ५० थान इन्फ्रारेड कुकर चुल्हो स्थानीय तह निर्वाचन आचारसंहिताको कारणले वितरण हुन सकेको थिएन ।

अहिले सोही चुल्हो वितरण गरेपछि जनगुनासो बढेको वडाध्यक्ष पवनकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसको बजेट व्यवस्थापन र खरिद प्रक्रियामा मेरो कुनै संलग्नता छैन ।”

कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले आफू आउनुभन्दा पहिला ग्यास सिलिण्डरका लागि विनियोजित बजेटलाई जनप्रतिनिधिको निर्णयअनुसार परिमार्जन गरी प्रक्रियाअुनसार इन्फ्रारेड कुकर चुल्हो खरिद गरिएको जानकारी दिनुभयो ।

यस वर्षको बजेट वक्तव्यमा सरकारले स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने घोषणा गरेको कार्यक्रममाथि सुरुबाटै प्रश्न उठिरहेको स्थितिमा कोटहीमाई–७ ले वडावासीलाई वितरण गरेको सो चुल्हो पनि उपयोगी हुने देखिएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.