जन सरोकार

आज गणेश चतुर्थी व्रत, नेवार समुदाय ‘चथाः पर्व’ मनाउँदै

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ ।

मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

नेवार समुदायमा यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि रहेको छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजाधानी लगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.