जन सरोकार

‘जङ्कफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने

बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा जङ्कफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको छ । यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् ।

विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेट लगायतका जङ्कफुड ल्याउने, प्लास्टिकजन्य फोहर जथाभावी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो ।

उक्त निर्णय मान्नेलाई सरकारले दिएको खाजा खर्च उपलब्ध गराउने, नत्र नदिने भएपछि नियमित रुपमा घरघरबाट खाजा बनेर आउने गरेको प्रधानाध्यापक सरिता गौतम सापकोटाले बताउनुभयो ।

नेपाल सरकारले प्राथमिक तहका बालबालिकालाई दैनिक रु १५ खाजा स्वरुप दिने व्यवस्था गरेको छ । ‘विद्यालयले एकमुष्ट रकम दिएर दैनिक खाजाको क्यालेन्डर पनि घरमा पठाइदिएको छ ।

‘विद्यालयले एकमुष्ट पैसा दिएपछि जे ल्याए पनि कराउनैपर्ने थिएन तर जङ्कफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरुपता गराउन नसकिने भएपछि यो निर्णय गर्नुपरेको हो’’, गौतमले भन्नुभयो, ‘‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिबका छोराछोरी भनेर देखिँदैन ।’’

अभिभावकलाई पनि यो निर्णयले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताउनुभयो । ‘‘हरेक दिन फरकफरक खाजा खुवाउन पनि सकिएको छ’’, पौडेलले भन्नुभयो, ‘‘बालबालिका पनि रमाएर खाजा खान तयार हुन्छन् ।’’

तोकेको दिन सबैको खाजा एकै प्रकारको हुनुपर्ने प्रावधान छ । उहाँका अनुसार विद्यालयले हरेक आइतबार रोटी र तरकारी, सोमबार मकैभट्ट र मङ्गलबार अण्डा तरकारीको व्यवस्था गर्न क्यालेन्डर बनाइएको हो ।

त्यस्तै बुधबार हलुवा पिठो, बिहीबार चना र शुक्रबार खट्टे घ्यू खुवाउने गरिएको हो । विद्यालयले दिएको तालिकाअनुसार सबै बालबालिकाको खाजा एकै प्रकारको भएपछि मिठोनमिठो भन्ने अवस्था नरहेको गौतमले बताउनुभयो ।

कतिपय विद्यालयले भने सामग्री किनेरै अभिभावकलाई दिने गरेका छन् । बानपा–८ को सिगानास्थित बौडे चउर माविमा भने विद्यालयले सामग्री खरिद गरेर दामासाही दिएको हो । यसरी दिँदा थोरै खर्चमा धेरै सामग्री किन्न सकिएको अभिभावकले बताउनुभयो ।

खाजाको क्यालेन्डर बनाएर नियमित घर घरबाट ल्याएको खाने बानीले बालबालिकाको स्वास्थ्य राम्रो भएको गौतमले बताउनुभयो । उनीहरुको कामबाट शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्याय प्रभावित भएको बताउनुभयो ।

‘‘विद्यालयले राम्रो काम गरेको रहेछ’’, उपाध्यायले भन्नुभयो, ‘‘खाजाको एकरुपता भएको छ, धनी र गरीबबीचको खाडल पनि पुरिएको देखियो ।’’ मिठो मसिनो मात्रै पठउने र जङ्गफुडमा खर्च गर्नेले पनि तोकिएकै खाजा ल्याउन बाध्य भएपछि बालबालिकामा विभेद नदेखिएको उहाँले बताउनुभयो ।

विद्यालयले प्लास्टिकजन्य फोहरको व्यवस्थापनमा पनि एकरुपता ल्याएको छ । प्लास्टिकजन्य फोहर ननिकाल्ने, निस्केमा पनि उचित स्थानमा राखेर व्यवस्थापन गर्ने तथा नियमित विद्यालय सफाइ गर्ने व्यवस्थासमेत भएको अर्का शिक्षक नीता गैरेले बताउनुभयो ।

‘‘सुरुसुरुमा शिक्षकले गर्दा बालबालिकामा पनि बानीको विकास भएको छ’’, गैरेले भन्नुभयो, ‘‘राम्रो आचरण बसाल्दा समाजलाई पनि फाइदा भएको छ ।’’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.