राजनीति

इन्द्रजात्रा नेपालका सांस्कृतिक पूँजी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको बताउनुभएको छ ।

सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बद्र्धन गर्ने नीति लिएको बताउँदै उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालीहरू जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह गरेका छौँ ।”

सन्देशमा अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने इन्द्रजात्रा जस्ता पर्व नेपालको सांस्कृतिक पूँजी रहेको उल्लेख गर्दै उहाँले सबल राष्ट्रिय एकताको यो सांस्कृतिक आधारशिला नेपालीका लागि गौरवको विषय भएको जनाउनुभएको छ ।

सन्देशमा उहाँले कोभिड– १९ महामारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई आह्वान गर्दै महामारीबाट सुरक्षित भई राष्ट्रको समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले परम्परा एवं सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउने बताउनुभएको छ ।

इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिनुहँुदै उहाँले प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको इन्द्रजात्रा पर्वले कृषि प्रधान मुलुकको समृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले कोभिड–१९ महामारीकाबीच आवश्यक स्वास्थ्य सावधानी अपनाएर मुलुकका सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । ‘हाम्रो देशको धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरको पहिचान बोकेको पर्व इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।

शत्रु पराजय भएपछि विजय उत्सवका रुपमा मनाउने किंवदन्दीअनुसार विशेष गरी काठमाडौँ उपत्यका र उपत्यका बाहिरका केही स्थानमा धुमधामका साथ इन्द्रजात्रा पर्व मनाउने गरिन्छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने चलन छ ।

इन्द्रजात्रालाई नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन गत वर्ष पहिलोपटक विश्वका विभिन्न मुलुकका मेयरलाई निमन्त्रणा गरी यो पर्वको प्रत्यक्ष अवलोकनसमेत गराइएको थियो । यो पटक विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण अन्य क्षेत्रजस्तै यस्ता मौलिक सांस्कृतिक पर्व पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.