लकडाउनमा निराश भएर बस्नुको साटो नयाँ काम सिक्दा….
कोरोना सङ्क्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । विश्वव्यापि कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन । कोरोना जोखिम हुन नदिन कही लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झण्झटिलो भैरहेको छ । कतिपयलाई भने नयाँ नयाँ काम सिक्ने अवसर समेत बनिरहेको छ ।
इलामको माइजोगमाई गाउँपालिकास्थित सोयाङका पुजन चापागाईं लकडाउन शुरु भएको पाँचदिन अघि नै घर आउनुभएको हो । घरमै मात्र बस्नुपर्ने भएपछि शुरुआति समयमा त उहाँलाई हैरानी बनायो । विर्तामोडको खुला सडकमा समय बिताउने उहाँलाई घरभित्रै टिभी हेर्न र पढ्नमात्रै दिक्क लाग्न थाल्यो । उहाँलाई रहर लागेको चित्रकलाको सम्झना आयो । उहाँले शुरुमा त समयको सदुपयोगका लागि केही चित्र कोर्नु भयो । तर, बनाउँदै जाँदा कही चित्र हेर्न लायक पनि भए ।
परिवारले हौसला बढेपछि भने उहाँले दिनदिनै चित्र कार्दै जानुभयो । पुजनको चित्रको सङ्ख्या बढ्दै जाँदा चित्रमा निखारता पनि बढ्दै गयो । अहिले त उहाँको लामो समय चित्र बनाउँदै जान्छ । उहाँले शुरुमा घरपरिवारकै चित्र बनाएपनि पछिल्लो समय भने अरूको पनि बनाउँदै जानु भयो । अहिले त उहाँले बनाएका सबै चित्र ‘एक से एक’ छन् । “अरूले पनि चित्र आफ्नो चित्र बनाउन आग्रह गर्नुहुन्छ” उहाँ भन्नुहुन्छ,“लकडाउनले मलाई चित्र बनाउन सक्ने बनायो । लकडाउन थिएन भने सायद चित्र कोर्ने हुने थिइन होला ।” उहाँले पेन्सिल मात्रै प्रयोग गरेर चित्र कोर्दा पनि दुरुस्तै बनाउनु हुन्छ । “अहिले चित्रमा निखारता ल्याउन पेन्सिलले मात्र कोर्ने गरेको छु”उहाँ भन्नुहुन्छ,“अरू चीजको प्रयोग गर्दा चित्रको अर्गानिकपन आउँदैन ।”
आफ्नो रहरको विषय भएकाले पनि दुःख गरेर चित्र उतार्न रमाइलो लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँ घरपरिवार(बहिनीहरू, हजुरबा, हजुरआमा), साथीभाइ र आफूले मन पर्ने चित्र कोर्ने गरेको बताउनुहुन्छ । लामो समय निरन्तर खटेर गर्नुपर्ने भएपनि चित्रकलामा भविष्य नभएको उहाँको गुनासो छ ।
सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका सुमन निरौला(भारद्वाज)को पीडापनि पुजनकै जस्तो छ । इलामकै महेन्द्र रत्न बहुमुखि क्याम्पसको स्नातक चौथो बर्ष अध्ययनरत उहाँ पनि लकडाउन भएपछि घर जानु पर्ने भयो । सहरमा जस्तो ‘कडा’ लकडाउन गाउँमा नभएपनि उहाँले फाट्टफुट्ट बाहिर हिड्न बाहेक घरमै विताउनु प¥यो । उहाँले पनि पुजनले जस्तै आफूलाई अल्छी लागेको समयमा पेन्सिलले चित्र कोर्न थाल्नुभयो ।
सानैदेखि रहरको विषय रहेको चित्रकलामा उहाँले दिनानुदिन परिश्रम गर्दै जानु भयो । परिश्रम खन्याएसँगै चित्रकला अब्बल बन्दै गए । परिवार र साथीभाइको चित्र समेत बनाउँदै गएपछि धेरैले उहाँका चित्र मन पराउन थाले । निरन्तर चित्र बनाएपछि उहाँले पनि दुरुस्तै चित्र कोर्न सक्ने बन्नुभयो । अहिले त सुमनलाई चित्र बनाइ दिनभन्दै दैनिक ३÷४ कल फोन नै आउँछन् ।
“धेरैले चित्र बनाइदेउ घरमा सजाएर राख्छु भन्दै फोन गर्नुहुन्छ” उहाँ भन्नुहुन्छ,“साह्रै खुसी लाग्छ । यस्तो भन्दा ।” उहाँका अनुसार एउटै चित्र बनाउन लगातार तीन÷चार घण्टा खट्नु पर्छ । सोखकै कारण अहिले सुमन घरका सबैका भ्याएर २ देखि ३ घण्टा चित्रकलालाई समय छुट्याउनुहुन्छ । “धेरै र राम्रा चित्र बनाए भविष्य त होला ।” उहाँ भन्नुहुन्छ ।