राजनीति

गिरीको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिनुभएको छ ।

केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो । घाँटीको क्यान्सरबाट पीडित स्व गिरीको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो । भदौ ५ गते उहाँको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मनुभएका स्व गिरी चार पटक सांसद बन्नुभएको थियो । उहाँ पछिल्लो पटक २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । अध्ययन, अनुसन्धान र लेखनमा रुची राख्ने उहाँ समाजवादी चिन्तक हुनुहुन्थ्यो ।

मधेसका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम

स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ ।

स्व गिरीको स्मृतिमा आज दिउँसो उहाँको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित स्व गिरीले शान्त रुपमा बस्न र थकाई मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा बनाउनुभएको आश्रममा आज दिउँसो १ बजे श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहने सभापति यादवले बताउनुभयो ।

स्व गिरीको इच्छाअनुसार वस्तीपुरमा दाहसंस्कार गर्न नसकिए पनि आज १३औँ दिनको पुण्यतिथिमा उहाँको अस्तु आश्रममा सेलाइने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.