कर्पोरेट/पर्यटन

एयर अरेबियालाई पैसा फिर्ता गराउन निर्देशन, विदेशी एयरलाइन्सले नेवानिको भाडादरमा उडान गर्नुपर्ने

सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएका १ सय ४२ यात्रुको रकम फिर्ता गराउन निर्देशन दिनुभएको हो ।

एयर अरेबियाले १४२ जनाको पिसिआर गरेको, १८ जनाको आरडिटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टिनमा राखेपछि सोबापतको रकम फिर्ता गराउन मातहतका निकायलाई पर्यटनमन्त्रीले निर्देशन दिनुभएको हो । मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।

मन्त्रालयमा बुधबार नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले यात्रुको रकम फिर्ता गर्न एयर अरेबियालाई निर्देशन दिनुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय नियमित उडान महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन र विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रितरुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाइन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घ ९एनआएन० लाई आग्रह गर्नुपर्ने धारणा राख्नुभयो ।

निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ । मन्त्रालयले अन्य विदेशी एयरलाइन्सलाई निगमका उडान गन्तब्यमा निर्धारण गरिएको भाडादर अनुरुप उडान गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिन आग्रह गरेको हो । बजेट एयरलाइन्सको हकमा अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको उडान भएका गन्तब्यमा तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई प्राधिकरणले निर्देशन दिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चार्टर उडानको भाडादरको हकमा साविकमा पर्यटन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिन पनि प्राधिकरणलाई भनिएको छ । हवाई भाडादर असुलउपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडा असुल नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिइएको छ ।

यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ । अगष्ट २६ मा भएको एयर अरेबियाको उडानबाट पिसीआर परीक्षण गराइए आएका १४२ जनाको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेतना गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.