राजनीति

प्रदीप पौडेल तनहुँ क्षेत्र नं २ बाट सिफारिश

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सहमतिमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिले बिहीबार सहमतिमा उम्मेदवारको नाम टुङ्गो लगाई जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र र विधानले दिएको अधिकारमा रहेर बसेको क्षेत्रीय कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको संयुक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ एक पुरुष तथा एक महिलाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति चूडामणि खनालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ पुरुषतर्फ क्षेत्रीय सचिव सन्तोष घिमिरे र महिलातर्फ नेपाल महिला सङ्घ जिल्ला उपसभापति चन्द्रकला भट्टराई सिफारिस हुनुभएको छ ।

सम्भावित उम्मेदवारको नामावली सर्वसम्मत र पार्टीको वर्तमान मर्यादाक्रमअनुसार पठाइएको तथा पार्टीले यी नामभित्रबाट गर्ने निर्णयमा क्षेत्रीय समिति सहमत रहने निर्णय भएको खनालले बताउनुभयो ।

यसैगरी तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) प्रदेश समितिले पनि उम्मेदवार सिफारिस गरेको छ । प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा आवेदन दर्ता गराएका उम्मेदवार सिफारिस गरी पठाइएको हो ।

प्रत्यक्षतर्फ प्रा डा कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस हुनुभएको छ ।

समानुपातिकतर्फ खुलामा डिल्लीराम अधिकारी, रामबहादुर अधिकारी, सूर्यभक्त भण्डारी, श्यामबहादुर केसी, विष्णुहरि पाठक, जनजातितर्फ भक्तबहादुर श्रेष्ठ, भीमबहादुर थापा, जितराज राना, गोपीबहादुर गुरुङ, निरबहादुर पुन, श्यामकृष्ण मल्ल, हीराबहादुर थापा र चन्द्रबहादुर गुरुङ तथा महिलातर्फ लक्ष्मी सिग्देल, पवित्रा घिमिरे, विष्णु मल्ल, रसामाया गुरुङ, तारादेवी लम्साल अधिकारी र राधादेवी पौडेल सिफारिस हुनुभएको छ । दलिततर्फ रामकृष्ण विक र विनबहादुर परियार, अल्पसङ्ख्यकतर्फ रोजिना खातुन सिफारिस हुनुभएको छ ।

संविधानसभा सदस्य आलेसहित कार्यकर्ताको कारबाही फुकुवा

नेपाली कांग्रेस तनहुँले संविधानसभा सदस्य झुलबहादुर आलेसहितका नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेसका बागी उम्मेदवारलाई सहयोग गरेको अभियोगमा निलम्बनमा पर्नुभएका संविधानसभा सदस्य आलेसहितका नेता कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरिएको हो ।

कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले निलम्बित एवं राजीनामा दिएका ऋषिङ गाउँपालिकाअन्तर्गतका नेता कार्यकर्ताको सबै कारबाही फुकुवा गर्ने निर्णय भएको प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।

सो गाउँपालिकाअन्तर्गत गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षलगायतका उम्मेदवारीका विषयमा असन्तुष्टि जनाउँदै आलेसहित केही नेता तथा कार्यकर्ताले राजीनामा दिनुभएको थियो । ऋषिङको अध्यक्षमा कांग्रेसकै श्रीराम आलेले बागी उम्मेदवारी दिनुभएको थियो भने दुई वडामा कांग्रेसकै बागी उम्मेदवारले विजय हासिल गर्नुभएको थियो ।

नेपाली कांग्रेसले यही भदौ १२ गते विज्ञप्ति जारी गरी राजीनामा दिएकालाई मूलधारमा फर्कन आह्वान गरेको थियो । सोहीबमोजिम ऋषिङका नेता तथा कार्यकर्ताले भदौ १४ गते पार्टी कार्यालयमा सम्पर्क गरी आफूहरु पार्टीमा फर्किने प्रतिबद्धता जनाएका थिए ।

मङ्सिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजय गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकाले उम्मेदवार, प्रस्तावक र समर्थकको हकमा कारबाही फुकुवा गर्न जिल्ला कार्यसमितिबाट केन्द्रमा सिफारिस गर्ने र निलम्बित एवं राजीनामा दिएकाको हकमा कारबाही फुकुवाको निर्णय भएको प्रवक्ता वाग्लेले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.