जन सरोकार

गोकर्णेश्वर र कागेश्वरी-मनोहरालाई असहाय गाईबाच्छा मुक्त गरिने

राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र कागेश्वरी-मनोहरा नगरपालिकालाई असहाय गाईबाच्छा मुक्त गरिने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न दिएको रु २३ लाख आर्थिक सहयोगबाट खरिद गरिएको एम्बुलेन्स हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा दुवै नगरपालिकाका नगर प्रमुखलगायत जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

कार्यक्रममा कागेश्वरीका नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाईबाच्छा संरक्षण अभियानलाई आवश्यक सबै सहयोग गरिने प्रतिबद्धता जनाउँनुभयो । उहाँले नगर क्षेत्रमा गाईबाच्छा खुला छोड्नेलाई कारबाही गर्ने नियम, कानून बनाइने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले गाईलाई गौमाताका रुपमा पुज्ने अनि तिनका बाच्छालाई खुला ठाउँमा छोड्नु गलत भएकाले कारबाहीका लागि आवश्यक कानून निर्माणमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष हरिभक्त पुडासैनीलगायतले असहाय गाईबाच्छा छोड्न नदिन सरोकार भएका सबै निकायसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीले सडक, मठ मन्दिर क्षेत्र र वाग्मती एवं मनोहरा नदी किनारमा छोडिएका दुई सय नौ गाईबाच्छालाई संरक्षण गरिएको जानकारी दिनुभयो ।

सडक, मठमन्दिर एवं सार्वजनिक स्थलबाट गाईबाच्छा उद्धार गरी संरक्षण स्थलसम्म लैजान पशु एम्बुलेन्सले मद्दत पुग्ने उहाँको भनाइ थियो । अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडक, मठमन्दिर एवं सार्वजनिक स्थलमा छाडा छोडिएका गाईबाच्छाको उद्धार गरी संरक्षण गर्दै आएको छ ।

एम्बुलेन्स खरिद गर्न नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै लामो समयदेखिको सपना साकार भएको संयोजक पुडासैनीले बताउनुभयो । यो धर्ती अबोध प्राणीको पनि भएकाले निरन्तर सहयोग जुटाउँदै अभियानले छाडा छोडिएको गाईबाच्छा संरक्षण गर्दै आएको छ ।

लक्ष्मीमाताका रुपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने गाईबाच्छाले पनि ससम्मान जिउन पाउनुपर्छ भन्ने स्थापित गर्न अभियान सुरु भएको हो ।

सडकमा अलपत्र गाईबाच्छाको उद्धारमा अहोरात्र क्रियाशिल असहाय गाईबाछा संरक्षण अभियानको आश्रयस्थलमा हाल करिब दुई सय नौ वटा गाईबाच्छाले संरक्षण पाइरहेका छन ।

अभियान अन्तर्गत हरेक दिन सडकमा अलपत्र छाडिएका गाईबाच्छाको उद्धार गरिँदै आएको छ । स्वयंसेवीस्तरमा सञ्चालित अभियानमा व्यापक जनसमर्थन रहँदै आएको छ ।

समर्थन स्वरुप स्थानीयवासी र टाढाटाढाबाट समेत जन्मदिन मनाउन असहाय गाईबाच्छा संरक्षणस्थलमा सहयोगीको भीड लाग्ने गरेको छ । एम्बुलेन्सको आगमनसंगै अभियानमा नयाँ आयाम थपिने भएको छ ।

एम्बुलेन्स प्राप्त भएसँगै अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि प्रयोग गरिने भएको छ । अभियानका लागि नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले एक सय रोपनी जग्गा उपलब्ध गराएको छ ।

कोषको गुरुयोजना अनुसार यो स्थानमा गौशाला स्थापना गर्ने लक्ष्य राखिएको छ । कति मानिसले भने असहाय गाईबाच्छा संरक्षण स्थलसम्म लगेर पनि सहयोग गर्ने गरेका छन् ।—

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.