जन सरोकार

भारत फर्कनेहरुको दुःखेसो- "यहाँ के खाने, मरे उतौं मरौंला"

सरकारले लगाएको समृद्ध नेपाल सुखी नेपालीको नाराको सार्थकताका लागि स्वदेशमै उद्यमशीलताको विकास गर्ने एउटा ठूलो अवसर दिएको थियो कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीले । भाइरस संक्रमण बढ्दै गएपछि रोजगारीका लागि विदेश गएका लाखौं युवा स्वदेश फर्केपछि एउटा आशा पनि जागेको थियो तर, यो अवधिमा उनीहरुको दैनिकी नै चल्न नसक्ने भएपछि पनः पलायन हुन थालेका छन् ।

विशेष गरी भारतमा मजदुरी गरेर गुजारा चलाउनेहरु स्वदेश फर्केपछि उनीहरु बेरोजगार बने, परिवार पाल्न नसक्ने स्थिति भएपछि उनीहरु पुनः भारत फर्कन थालेका छन् । नेपालमा कोरोना संक्रमण बढिरहेको छ भने भारतमा अति तीब्रगतिमा संक्रमण फैलिइरहेका बेला युवाहरु खानकै लागि जोखिम मोलेर भारततिर जान बाध्य भएका हुन् ।

अहिले खेतीपातीको याम, गाउँघरमै रोजगारीको सिर्जना गरेर संक्रमण पनि नबढ्ने, उत्पादकत्व पनि बढ्ने नीति लिएर काम गर्नुपर्ने सरकारले कुनै चासो नदिंदा युवाहरु ज्यान जोखिममा पारेर भारत फर्कन बाध्य हुनु देशकै लागि दुर्भाग्यको सूचक हो ।

केही दिनयता सुदूरपश्चिमको सीमा नाकामा नेपालबाट भारत जानेहरुको भीड लाग्न थालेको दृश्यले यो देशमा तीन तहको सरकार कहाँ छ भन्ने प्रश्न उठाएको छ । भारततिर फर्कन लागेका युवाहरुको एउटै गुनासो छ, यहाँ के खाने, मरे उतौं मरौंला ।

कोरोना संक्रमण बढेपछि अत्यन्त कष्टसाथ स्वदेश फर्केकाहरु यहाँ काम नपाएर खानै नसक्ने भएपछि पुनः भारत फर्कन लागेकाहरुको विवरणसहित कान्तिपुर दैनिकका लागि मोहन बुढाऐरले धनगढीबाट पठाएको रिपोर्ट यस्तो छ-

दिनेश विक सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता पाएन, आयोगको परीक्षा पनि रोकियो । त्यसपछि उनी रुकुमपश्चिम घर फर्के । ‘चैतदेखि घरको मानो खाएर बिनाकाम बस्नुपर्‍यो,’ २४ वर्षीय दिनेशले भने, ‘गाउँमा साथीहरू स्याउ टिप्न सिमला जाने भए । म पनि उनीहरूसँगै मिसिएँ ।’

स्याउ टिप्न भारत हिमाचलको सिमला पहाड हिँडेको दिनेशको समूहमा २३ जना छन् । लगभग उस्तै उमेरका उनीहरूमध्ये कोही सुर्खेत र नेपालगन्जमा काम र अध्ययन गरिरहेका थिए । कोहीले भने यसअघि पनि सिमलामा गएर काम गरेका थिए । ‘पाइरहेको काम पनि कोरोनाका कारण गुमाउनुपरेपछि स्याउ टिप्न सिमला जाँदै गरेका हौं,’ त्यही हूलमा रहेका २३ वर्षीय दीपक विकले भने । रुकुमबाट बस रिजर्भ गरेर धनगढी आइपुगेका उनीहरूलाई नाकाबाट सिमलासम्म लैजान भारतीय ‘एजेन्ट’ आएको दीपकले सुनाए ।

स्याउ टिप्न सिमला जानका लागि बर्दिया बढैयातालका १७ जनाको अर्को समूह पनि गौरीफन्टा नाकामा लामबद्ध भेटियो । उनीहरूमध्येका गम्भीरसिंह महतराले गाउँघरमा खाली बस्नुपरेकाले तीन महिनाका लागि सिमला जान लागेको बताए । त्यस समूहमा जया र वीरबहादुर भण्डारी दम्पती पनि छन् । पाँच वर्षीर्य बालक बोकेर २२ वर्षीया पूजा परियार पनि टोलीमा सामेल भएकी छन् । ‘श्रीमान् पहिल्यैदेखि सिमलामै हुनुहुन्छ, त्यही भएर म पनि हिँडेकी हुँ,’ पूजाले भनिन् ।

उक्त समूहमा रहेका गोपाल घर्तीका अनुसार नेपाली कामदारका लागि सिमलाबाट स्याउ बगानका साहुहरूले गाडीको पास बनाएर सीमा नाकासम्म पठाउने गरेका छन् । ‘कोरोनाको डर मान्दै घरमा हातखुट्टा बाँधेर बस्न सकिएन,’ २७ वर्षीय घर्तीले भने ।

भदौ सुरु भएसँगै नेपाली युवा भारत जाने क्रम सुरु भएको हो । सुदूरपश्चिममा महत्त्वपूर्ण मानिने ओल्के संक्रान्ति (भदौ १) मनाएपछि युवा बाहिरिन थालेका हुन् । विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै युवा नाकासम्म पुग्ने गरेका छन् । एक सातायता भारत जानेको लर्को बढेको त्रिनगर–गौरीफन्टा नाका सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) भूपाल थापाले बताए । उनका अनुसार कर्णालीका विभिन्न जिल्लासँगै, बाँके, बर्दिया, कैलाली र सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्याउ टिप्न भनेरै दिनहुँ सयौं जना भारत पसिरहेका छन् । गौरीफन्टा नाका भएर मंगलबार पनि ६ सयभन्दा बढी युवा भारत छिरे । बुधबार १ सय ८७ जना भारत लागे । ‘अन्य सहरमा काम खोज्न जानेको संख्या पनि पछिल्लो साता बढेको छ,’ सई थापाले भने, ‘अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ ।’

उनका अनुसार घर फर्कनेहरूले रोजगारी गुमाएर आउनु परेको र जानेहरूले रोजगारी खोज्न भन्ने गरेका छन् । गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टर राजेन्द्र कुँवरका अनुसार पछिल्लो एक सातामा १ हजार ३ सय ५ जना नेपाली भारत पसेका छन् । भदौ १ देखि १० सम्ममा भारत जानेको संख्या ८ सय ४४ थियो । नेपालीहरू ठूलो संख्यामा महाराष्ट्रको मुम्बई, गुजरातको सुरत र पञ्जाबका सहर पनि जाने गरेका छन् । कामका लागि भारत पस्ने केहीसँग रासन (आधार) कार्ड छ, कसैसँग छैन । भारतीय सुरक्षाकर्मीले आधार कार्ड बोकेका परिवार वा भारतीय कम्पनीले मजदुरका लागि पास पठाएकालाई मात्र प्रवेश गर्न दिएको छ । रासन कार्ड नभएकाहरू कार्ड भएका परिवारको सदस्य भएर भारत पस्ने गरेका छन् । उनीहरूले आफूहरूलाई काम गर्न जाने ठाउँबाट गाडी बुकिङ गरेर नाकासम्म मगाएको बताएका छन् ।

कोरोना त्रासले गत जेठमा परिवारसहित घर आएका कैलालीको लम्कीचुहा नगरपालिका–२ बगौराका प्रेम सन्ज्याल फेरि सुरत फर्केका छन् । लामो समयदेखि भारतमा परिवारसहित बस्दै आएका उनीसँग उतैको रासन कार्ड छ ।

‘उता सम्पर्क गरी गाडी बुकिङ गरेर पठाउन लगाएका हौं,’ सन्ज्यालले भने, ‘यतै बसेर कसरी धान्ने ?’ उनकै हूलमा परिवारसहित सुरत जान लागेका लम्कीकै देवीराम खनाल पनि थिए । ‘कोरोनाको डरले घर फर्कियौं,’ उनले भने, ‘यहाँ के खाने ? काम केही पाइँदैन, आफैं केही गर्न सकिने अवस्था पनि छैन । मरे उतै मरौंला ।’

उनले वर्षौंदेखि भारतमा आधार कार्ड बनाएर परिवारसहित बसिरहेका आफूजस्तै धेरै परिवार कोरोनाका कारण नेपाल आए पनि यहाँ भोकले मर्ने डरले फर्कन लागेको बताए । गाउँमा बेरोजगार भएका गरिब परिवारका अरूलाई पनि उतै लगिरहेको उनले बताए । घरमा बालबच्चा भोकै मर्ने अवस्था आएपछि बाहिर निस्कनु परेको लम्कीकै भरत बिष्टले बताए । ‘परिवारलाई रोगको डर छैन,’ उनले भने, ‘परिवार कसरी पाल्ने चिन्ता मात्रै हुन्छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.