जन सरोकार

कोरोना संक्रमण : देशभरमै सबैभन्दा बढी प्रभावित प्रदेश २, ११ हजारभन्दा बढी

बिहिबार साँझसम्म देशभरमा झण्डै ४३ हजारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये प्रदेश नं. २ मा सबैभन्दा बढी छन् । त्यहाँ मात्रै ११ हजारभन्दा बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या पनि त्यही सबभन्दा बढी छ । पछिल्लो समय वाग्मती प्रदेश अन्तर्गत संघीय राजधानी काठमाडौं उपत्यकामा पनि संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ ।

सबैभन्दा बढी प्रभावित प्रदेशहरुमा १, २, गण्डकी, ५, कर्णाली रहेका छन् । बिहिबार साँझसम्म प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ९५ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तिनमा ३० महिला र ६५ पुरुष छन् । सङ्क्रमितमा मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा छ, धनकुटा र तेह्रथुममा दुईदुई तथा प्रदेश बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तीमध्ये १३ महिला र २० पुरुष छन् । मोरङको सुन्दरहरैंचामा तीन पुरुष, लेटाङमा दुई महिला र एक पुरुष, कटहरीमा दुई पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा एक पुरुष र बूढीगङ्गामा एक महिलामा सङ्क्रमण देखिएको हो ।

यस्तै सुनसरीको धरानमा चार महिला र १७ पुरुष, इटहरीमा एक महिला र दुई पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका एकएक पुरुष र देवानगञ्जमा एक महिला, झापाको कमल गाउँपालिकामा दुई महिला र चार पुरुष, बिर्तामोडमा चार महिला र एक पुरुष, अर्जुनधारामा एक पुरुष, संखुवासभाको खाँदबारीमा पाँच पुरुष र मादीमा एक पुरुष, धनकुटाको शहीदभूमिमा एक पुरुष, धनकुटा नगरपालिकामा एक महिला, तेह्रथुमको म्याङ्लुङमा एक महिला र एक पुरुष तथा प्रदेश बाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६८० पुगेको छ । हालसम्ममा प्रदेशमा एक हजार ७४७ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ७९० जनाको पिसिआर परीक्षण भई कुल ९३ हजार २९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

जनजीवन सहज बनाउन सुझाव

बन्दाबन्दी र निषेधाज्ञाले कोरोना रोकथाम एवं नियन्त्रण हुन नसक्ने सञ्चारकर्मीले सुझाव दिएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित छलफलमा सञ्चारकर्मीले जनजीवनलाई सहज एवं सरल बनाउन कोरोना भाइरसका बारेमा नागरिकलाई सचेत र सजग बनाउनु नै उत्तम उपाय हो भन्दै उद्योग, व्यापार, व्यवसाय बन्द गरेर कोरोनाको रोकथाम एवं नियन्त्रण गर्न नसकिने बताउनुभयो ।

सो अवसरमा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले नागरिकले सरकारी सेवा पाउनबाट बञ्चित हुन नहुने बताउँदै बन्दाबन्दी र निषेधाज्ञाका विकल्पका बारेमा सुझाव दिन आग्रह गर्नुभयो । उहाँले तत्काल सरकारी वा निजी विद्यालयहरु सञ्चालन नहुने जनाउँदै जनजीवन सहज एवं सरल बनाउन सरकारले आवश्यक योजना बनाउने जानकारी दिनुभयो ।

आन्तरिक मामिला मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले सञ्चारकर्मीलाई सार्वजनिक खरीद ऐनअनुसार नै विज्ञापन दिइएको जानकारी दिनुभयो ।

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु हुनाका साथै २५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा सप्तरी जिल्लामा एक जनाको मृत्यु भएको छ । यससमेत गरी प्रदेशमा अहिलेसम्ममा ९६ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा धनुषाबाट ६३ , महोत्तरीबाट १९, सर्लाहीबाट ३०, रौतहटबाट ४६, बाराबाट २५ र पर्साबाट ६९ गरी २५२ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या १० हजार ८०८ पुगेको छ । तीमध्ये आज १८३ जना उपचार गराई निको भएर घर फर्केका छन् । उपचार गराइ निको भएर घर फर्केनेको सङ्ख्या पाँच हजार २५४ पुगेको छ ।

प्रदेशमा १९६ क्वारेन्टिन रहेकामा घटेर १७७ कायम भएको छ । सो क्वारेन्टिनमा ५५५ जना बसेका छन् । होम क्वारेन्टिनमा एक हजार ६६२ , आइसोलेशनमा एक हजार २५ र होम आइसोलेशनमा चार हजार ४३३ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

गण्डकी– पोखरा महानगरपालिकाका १० वटा वडामा आज अपराह्न थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज अपराह्न तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा महानगरका २९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा महानगरका १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० नं वडाका २१ देखि ५२ वर्ष उमेर समूहका महिला तथा पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसै गरी तनहुँ, व्यास –१ र ४ का २९ वर्षीया दुई महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ३०८ पुगेको छ ।

व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह

रुपन्देही– यहाँका उद्योगी व्यवसायीले निर्बाधरुपमा व्यापारव्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनाको साथै निजी क्षेत्रको लगानीसमेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी व्यापार यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी यही भदौ २० गतेपछि व्यवसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका छन् ।

यस्तै रुपन्देही उद्योग संघले पनि सुरक्षा सतर्कता अपनाएर उद्योग व्यसाय खोल्ने अनुमति दिन माग गरेको छ ।

कानून मन्त्रालयका कर्मचारीमा संक्रमण

कर्णाली– कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी तथा एकएक चालक र नेपाल प्रहरीका गरी छ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेको छ । आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले मन्त्रालयका एक कर्मचारी, निवास र मन्त्रालयका पाँच सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आफू होम आइसोलेशनमा बसेको बताउनुभयो । अब मन्त्रालयका बाँकी कर्मचारीको स्वाब लिएर सामान्यावस्था भएपछि प्रवाह हुने सेवालाई नियमित गरिने उहाँको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले संक्रमितको कन्ट्याक्टमा रहेका अन्य कर्मचारी तथा सुरक्षाकर्मीको ट्रेसिङ भइरहेको बताउनुभयो । मन्त्रालयका अन्य कर्मचारी पनि आइसोलेशनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.