चितवनमा थप ७४ र गण्डकीमा ४० जनामा सङ्क्रमण पुष्टि
शुक्रबार विहान चितवनमा थप ७४ जनालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको ल्याबमा भरतपुर अस्पतालको ल्याबमा परीक्षण गरिएको ३०२ नमुनामध्ये चितवनका १७ र रौतहटका एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमध्ये भरतपुर महानगरपालिकामा ५६ जना, रत्ननगरका तीन, कालिकाका दुई, खैरहनीका चार र राप्तीका नौ जना रहेका छन् । यसअघि चितवन मेडिकल कलेजको ल्याबमा गरिएको ७०३ जनाको परीक्षणमा ८८ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
यी स्वाब भरतपुर अस्पतालले सीएमसी पठाएको थियो । सीएमसी ल्याबमा कोरोना पोजिटिभ देखिएकामध्ये ५७ जना चितवनका र ३१ जना अन्य जिल्लाका छन् ।
उता गण्डकी प्रदेशमा शुक्रबार ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक/एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।