जन सरोकार

रातो मत्स्येन्द्रनाथको क्षमापूजा सम्पन्न, २१ गते पुल्चोकबाट रथ तानिने- भोटो जात्रा नहुने

बिहिबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ जवर्जस्ती तान्न थालिएपछि भएको झडपकाबीच अन्ततः रथ तान्ने सहमति भएर शुक्रबार कफ्र्युकाबीच पुल्चोमा क्षमापूजा सम्पन्न भएको छ । रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्‍याउने पाटनका विभिन्न १८ जातीय समूहबीच सहमति भए अनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरिएको हो ।

कर्फ्युबीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा गरिएको हो । ज्यापू, ताम्राकार, सिकमी, बाराही, राजोपाध्याय, नापित, कपाली, खड्गीलगायत समाजद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिअनुसार भदौ २१ गते हाल पुल्चोकमा अवस्थित मत्स्येन्द्रनाथको रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु (नेवार समुदायमा मनाउने एक किसिमको पर्व) मनाउने, २२ गते भुःज्या (मत्स्येन्द्रनाथ यात्राको क्रममा मनाइने एक प्रकारको पर्व) मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने उल्लेख छ ।

यस वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका कारण मूलुकमा दिनानुदिन कोरोना सङ्क्रमित थपिँदै गएकाले जोखिम कम गर्न आज करुणामयको क्षमापूजा गरिने, भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छवयलाबु गर्ने, २२ गते भुज्याय मनाउने तथा साइत हेर्ने र सम्भवतः २६ गते यदि साइत प्राप्त भएमा रातो मच्छिन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने जानकारी गराउनुभयो ।

मच्छिन्द्रनाथ जात्राका विधि प्रकृया हाल रथ भएको ठाउँमा सम्पन्न गर्ने र पछिल्ला वर्षमा विगतका वर्ष झैं जात्रा सुसम्पन्न गरिनेछ । महर्जनले बिहीबार कुनै आधिकारिकताबेगर असम्बन्धित समूहबाट मच्छिन्द्रनाथको रथ तान्ने प्रयास भएको र स्थिति अराजक बनेकोप्रति भत्सना गर्नुभएको छ ।

यही भदौ ११ गते ज्यापू समाज यलमा रथसँगसम्बन्धित सरोकारवालाको विशेष बैठक बसेर मलमास अगावै जात्रा सम्पन्न गर्ने, गुठी संस्थानको प्रधान कार्यालयका विज्ञसँग परामर्श गरी आएको निचोडमाथि जातीय खलः पुचहरुले सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र सोहीअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने भद्र सहमति भएको थियो ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याएर भोटो जात्रा गर्ने गरिन्थ्यो । यस वर्ष भने महामारीका कारण भोटोजात्रा नगरिने भएको हो ।

विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.