जल/वातावरण

काठमाडौंमा कोरोना- तथ्यांकले देखाउँछ समुदायस्तरमै फैलिसक्यो, सरकार अझै सुस्त

देशका तराई तथा अन्य क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढिरहँदा राजधानी काठमाडौं उपत्यकामा औंलामा गन्नसकिने संक्रमित थिए, ती पनि विदेशबाट फर्केकामा संक्रमण देखिएको थियो । तर अहिले समयले कोल्टे फेरेको छ र हरेक दिन देशभर थपिने संक्रमितमा ४० प्रतिशतको हाराहारीमा उपत्यकाका हुने गरेको छ ।

यो तथ्यांकले राजधानी उपत्यकामा समुदायस्तरमै कोरोना संक्रमण भैसकेको थप पुष्टि हसन्छ, तर रोकथामको काम एउटै पारामा भैरहेको छ, निषेधाज्ञा बाहेक परीक्षणको दायरा बढाएर संक्रमित खोज्ने क्रम केन्द्रीय तहबाट भएको छैन । स्थानीय निकायले गरेका परीक्षणमा व्यक्ति मात्र हैन परिवारका परिवार नै संक्रमित भएको पाइएको छ ।

काठमाडौंका काँठ क्षेत्रका नगरपालिकाहरु अहिले आक्रान्त छन् । चक्रपथ पार गरेर ग्रामीण क्षेत्रमा पुगेको कोरोनाले अझै भयावह स्थिति सिर्जना गर्नसक्ने तर्फ विज्ञहरुले चेतावनी दिइरहेका छन् । उता सरकार भने उपत्यकामा मात्र हैन कुनै पनि जिल्लामा समुदायस्तरमा कोरोना नफैलिएको दावी गरिरहेको छ ।

काठमाडौंमा वितेको डेढ महिनामा संक्रमितको तथ्यांक हेर्दा कोरोना समुदायमा नफैलिएको दावी गरिरहँदा घटनाक्रमले त्यस्तो देखाउँदैन । प्रस्तुत विवरणले उपत्यकामा समुदाउस्तरमा कोरोना फैलिसकेको स्पष्ट देखाउँछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन ४ गते सिंहदरबारमा ५ सय ८ जनाको स्वाब लिएर परीक्षण गर्दा २ जना ट्राफिक प्रहरीलाई कोरोना पोजेटिभ देखिएको थियो । असार तेस्रो साता उपत्यकाको १२ स्थानमा ५ हजार जनाको स्वाब परीक्षण गर्दा तीन जनालाई मात्रै कोरोना पोजेटिभ देखियो । स्वाब परीक्षण गरेको मध्ये पोजेटिभ देखिने दर १ प्रतिशत पनि थिएन ।

अहिलेको चित्रण त्यो बेलाको रिपोर्ट भन्दा ठ्याक्कै उल्टो भएको छ । झण्डै सिंहदरबारमा संकलन भएका स्वाब संख्या जतिकै बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा भदौ ९ मा ५ सय १९ जनाको स्वाब संकलन गरेर पीसीआर गर्दा ६० जना अर्थात ११ दशमलब ५६ प्रतिशतलाई कोरोना देखियो । ‘हरेक वडाबाट सबै क्षेत्रका व्यवसायीलाई समेट्ने गरी एउटा वडाका कम्तीमा १० जनालाई भेला गरेर पीसीआर गराएका थियौं । कन्ट्याक्ट ट्रेसिङमा नपरेका व्यक्तिको स्वाब निकाल्दा पनि संक्रमित दर उच्च देखियो,’ बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेलले भने । उनका अनुसार समुदाय स्तरमा परीक्षण गर्दा १५ प्रतिशतको हाराहारीमा नगरबासी संक्रमित रहेको उनको अनुमान छ ।

‘त्यसैले हामी आफैंले भिटिएम किनेर परीक्षण जारी राखेका छौं,’ उनले भने । कपन र बुढानिलकण्ठ क्षेत्रमा चार स्थान स्वाब निकाल्दा बुढानिलकण्ठमा बढी पाइएको उनले बताए । ‘निषेधाज्ञापछि पीसीआर गर्दा संक्रमित हुनेमा परिवार–परिवार नै देखिएको छ,’ उनले भने, ‘निषेधाज्ञाले छिमेकी र अरुलाई सार्न भने रोकिएको छ ।’

एक महिना अघिसम्म गोकर्णेश्वर नगरपालिकामा फाट्टफुट्ट देखिएका संक्रमण अहिले १ सय ५० को हाराहारीमा पुगेको छ । घना आवादीदेखि पूर्ण ग्रामीण क्षेत्र रहेको सो नगरपालिकाले आफ्नै स्रोतले नगरपालिकाभित्रका अस्पतालहरुमा आइसोलेसन, परीक्षण र एम्बुलेन्स समेत संचालन गरिरहेको छ ।

नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि ५ करोड रुपैयाँको कोष नै खडा गरेको मेयर सन्तोष चालिसेले बताउनुभएको छ । सो नगरपालिकामा रहेको नेपाल मेडिकल कलेजदेखि अन्य अस्पतालहरुमा कोरोना उपचारको बन्दोबस्न गरिएको र अहिले पनि ३ दर्जनभन्दा बढी संक्रमित उपचारका क्रममा छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका–४ मा पनि १ सय ८ जनाको स्वाब संकलन गर्दा १५ जनालाई पोजिटिभ देखिएको थियो । भारतबाट आएकी एक महिलाबाट संक्रमित सुरु भएको महाबौद्ध क्षेत्रमा भदौ १० मा १ सय २६ जनाको स्वाब परीक्षण गर्दा ३० जनालाई कोरानो पोजिटिभ देखिएको छ । यस अनुसार महाबौद्ध क्षेत्रमा संक्रमितको दर २३ दशमलब ८० देखिएको छ । यहाँ कन्ट्याक्ट ट्ेरसिङमा परेका र नपरेका दुवैको पीसीआर गरिएको थियो ।

‘दुई साता अघि र अहिलेको अवस्था फरक भएको छ । पहिला पोजेटिभ आउनेको संख्या न्यून हुन्थ्यो,’ ईडीसीडीका महानिर्देशक डा. पाण्डेले भने, ‘पोजेटिभ कसको आयो भनेर खोज्नु पथ्र्यो अहिले नेगेटिभ कसको आयो भनेर खोज्नु पर्ने अवस्थामा पुगेका छौं ।’

कन्ट्याक्ट ट्रसिङको गर्ने कामको जिम्म स्थानीय तहलाई दिएको भएपनि ईडीसीडीले उपत्यकाका तीनै जिल्लामा कन्ट्याक्ट ट्रसिङ र समुदाय स्तरमा संक्रमणको अवस्था पत्ता लगाउन निश्चित क्षेत्रमा स्वाब संकलन गरिरहेको छ । ‘जति पनि ठाउँमा हामीले स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमणको दर पहिलाको भन्दा उच्च देखिन्छ,’ ईडीसीडीका निर्देशक डा. पाण्डेले भने, ‘समुदायको अहिलेको अवस्था हेर्ने हो भने दोस्रो चरणमा देखिन्छ । थप बुझ्न त एन्टीबडी परीक्षण गर्नु पर्ने हुन्छ । यसको तयारी भइरहेको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षण मध्ये संक्रमण दर ५.९ पुगेको छ । जुन दर एक महिना अघि ५.२ मात्रै थियो । मृत्यु दर पनि बढेको छ । एक महिना अघि मृत्यु दर ०.२ प्रतिशत रहेकोमा शुक्रबार ०.६ प्रतिशत पुगेको छ । ‘एक महिना र अहिलेको तुलना गर्नै सकिँदैन । अहिले संक्रमितको संख्या उच्च पुगेको छ,’ पाण्डेले भने, ‘जुन कुरा तथ्यले पनि पुष्टि गर्छ । अझै पनि सावधानी नअपनाउने हो भने संक्रमित दर बढ्न सक्छन् ।’ ईडीसीडीले संक्रमण उच्च देखिएको काठमाडौंको कोटेश्वर, बालुवाटार, चावहिल, महाराजगन्ज, बुढानिलकण्ठ, महाबौद्ध क्षेत्रमा समुदाय स्तरमा परीक्षण गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका स्वास्थ्य महाशाखाका कोरोना रोकथाम र नियन्त्रण टोलीका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार काठमाडौंको बालाजु र कोटेश्वर क्षेत्रमा दुई सय भन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै एक सय भन्दा बढी संक्रमित हुनेमा महाराजगन्ज, धुम्बराही, बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, स्वयम्भु छन् ।

त्यस्तै इनबहाल, बागबजारमा पनि एक सय भन्दा बढी संक्रमित छन् । काठमाडौंमा संक्रमित मध्ये ५५ प्रतिशत संक्रमित काठमाडौं महानगरमा मात्रै छन् । बिहीबारसम्म महानगरमा ३ हजार १ सय ८ जना संक्रमित भइसकेका छन् । भक्तपुरमा मध्यपुरथिमी नगरपालिकाको ३ नम्बर वडा कौशलटार, गठ्ठाघर, ललितपुरको ललिपतुर महानगरपालिका क्षेत्रको कुपण्डोल, सानेपा, च्यासल, गाबाहलमा संक्रमित उच्च छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.