कर्पोरेट/पर्यटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि रिट्ठेपानी डाँडा काटिने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि अबरोध बनेको विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटान कार्य आरम्भ भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ ।

प्रधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि रु ७२ लाखको ठेक्का आह्वान गरिएको छ ।

ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिनसक्ने र डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो सातादेखि सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । कम्तीमा पनि एक महिनाको अवधिमा उक्त डाँडा कटानको काम सकिने प्राधिकरणको अनुमान रहेको छ ।

यसै गरी रिट्ठेपानीको १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै पोखरामा क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाउने योजना रहेको महानिर्देशक अधिकारीले बताउनुभयो । प्राधिकरणले डाँडा कटानका लागि रुख कटानको काम पूरा गरिसकेको बताइएको छ ।

वन तथा वातावरण मन्त्रालयले उक्त डाँडा नजिक रहेका छ सय वटा रुख कटानका लागि स्वीकृति दिएसँगै रुख कटानको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयले रुख कटानका लागि दिइएको स्वीकृतीमा काटिएका रुख वन विभागलाई हस्तान्तरण गर्ने सझौता भएबमोजिम काटिएका रुखहरू विभागलाई हस्तान्तरण गर्ने तयारी रहेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

रिट्ठेपानी डाँडाको तीन सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा रहेको छ । उक्त विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको छ ।

कूल रु २२ अर्बको लागत रहेको यो विमानस्थलमा न्यारोबडी जहाज उडान सञ्चालन हुने भएको छ । क्षेत्रीयस्तरका वायुसेवाहरु यस विमानस्थलमा सेवा सञ्चालनका लागि जोडिने भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.