राजनीति

चुनावपछि सत्तामा जाने कि सडकमा ?

सत्ता गठबन्धनमा रहेर तालमेलसहित चुनावमा सहभागी भएर आगामी दिनमा पनि सरकार बनाउने र सकेसम्म आफै प्रधानमन्त्री हुने घोषणा गर्नुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचपछि सडकमा जाने उद्घोष गर्नुभएको छ ।

आइतबार काठमाडौँमा माक्र्सवादी ज्ञान केन्द्रद्वारा आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको तथा परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।”

संसद् विघटनको सम्बन्धमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय विशेष सुनुवाई समितिमा गएर बयान दिँदै आफू सडकको घेराबन्दीमा परेँ भनेर भनेको उल्लेख गर्दै अध्यक्ष दाहालले थप्नुभयो, त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो भन्ने मलाई लागेको छ ।

उहाँले यदि लाखौँ जनता ल्याएर सडकमा आन्दोलन नगरेको भए त्यो संसद् विघट नै हुने र नेपाल फेरि एक पटक डरलाग्दो निरङ्कुशता तिर जान्थ्यो भन्नुभयो । यो प्रणालीलाई बदल्नका निम्ति जनताको बीचमा जानुपर्ने आवश्यकता रहेकाले पनि आफू सडकमा जान लागेको उहाँले बताउनुभयो । उहाँले एक वर्षभित्रमै ठूलै आन्दोलन हुने पनि बताउनुभयो ।

उहाँले अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त समाज परिकल्पना सम्भव नभएका बताउनुभयो । यो निर्वाचन प्रणालीले भ्रष्ट र दलाल पूँजीपति वर्गलाई नै अगाडि ल्याउने उहाँले बताउनुभयो । यसले थाहै नपाई पार्टीका नेतालाई पनि भ्रष्टीकरणमा जान पनि बाध्य पार्ने उहाँले बताउनुभयो । उहाँले यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले कृषिको क्षेत्रमा क्रान्ति नल्याइ आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सम्भव नभएको बताउनुभयो । उहाँले रुस युक्रेन यद्धका कारण संसारभर आर्थिक सङ्कटको स्थिति पैदा भएको र अझ ताइवानको विषयमा अमेरिका र चीन आमनेसामने भइसकेपछि नयाँ राजनीतिक धु्रवीकरणको स्थिति देखा परेको बताउनुभयो ।

यो अवस्थामा कतिपय मुलुक खाद्यान्न रोक लगाउने अवस्थामा रहेको र यसले सामान्य रुपमा हेर्दा तत्काल असर हुने देखिएला तर यसले भने कालान्तरमा आत्मनिर्भर अर्थतन्त्र बचाउनका निम्ति नकारात्मक रुपमा ठूलो भूमिका खेल्ने बताउनुभयो । यस्तो अवस्थामा राज्यले पनि कतिपय निर्यात रोक्ने अवस्था आउनसक्ने उहाँले बताउनुभयो । तर अहिले नेपाल त्यस्तो स्थितिमा नरहेको पनि अध्यक्ष प्रचण्डको भनाइ थियो ।

अध्यक्ष दाहालले अहिलेको गणतन्त्र त्यत्तिकै नआएको र त्यसका लागि ठूलो त्याग र सङ्घर्ष रहेको बताउनुभयो । संविधानले समाजवादको परिकल्पना मात्रै गरेको भए पनि साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित जगैदेखि उत्पादन वृद्धि, श्रम र संस्कृति रुपान्तरण गर्ने योजना आफ्नो रहेको बताउनुभयो । त्यही योजनाका साथ आफ्नै पहलमा वाम गठबन्धन गरेको तर त्यो सफल नभएको उहाँले जानकारी दिनुभयो । यो सचेत रुपमा नै निरन्तरतामा क्रमभङ्गता गरेको तर सफल हुन नदिइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको चेतनास्तर परिवर्तन गर्न नसकेमा समाजवादको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले व्यक्तिवादी, भ्रष्ट प्रवृत्ति निमिट्यान्न नभएसम्म समाजवाद आउनै नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको समस्या प्रति कति संवेदनशील छ भन्ने कुराले समावादको निर्धारण हुन्छ ।”

अध्यक्ष नेपालले राजनीतिक दलमा गैर राजनीतिक प्रवृत्ति हावी हुँदै गएको बताउनुभयो । पार्टीका नेताहरु जनता र राष्ट्रप्रति जिम्मेवार नभएको र लोकतन्त्रप्रति गम्भीर नभएकाले यसप्रति गम्भीर रुपमा आत्मसमीक्षा गर्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले अन्य मुलुकका अभ्यासको विश्लेषणको आधारमा मुलुकको समाजवादको मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का नेता घनश्याम भुसालले सरकारमा गएर मात्रै रुपान्तरण नहुने कुरा ३०÷४० वर्ष कम्युनिष्ट पार्टी सरकारमा गएबाट स्पष्ट भएको बताउनुभयो । त्यसले रुपान्तरण गर्न सकेन भने कुनै पनि अर्थ नहुने भुसालको भनाइ थियो । उहाँले नेपालमा जनवादी क्रान्ति सकिएकाले अबको बाटो समाजवादी क्रान्ति नै भएको र त्यसका लागि पहिले कृषि क्रान्ति आवश्यक भएको बताउनुभयो ।

समाज र विज्ञानले पुष्टि गर्ने योजना नभएमा जस्तो सुकै अवधारणा पनि सफल नहुनेमा उहाँको जोड थियो । उहाँले कुनै पनि मुलुकमा समाजवाद एकैपटक नआउने र चरणचरणमा आउने भन्दै दलाल पूँजीपति परम्पराले समाजवादको बाटोलाई अवरोध गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जुन दिन बाध्यताले विदेश पुगेका नेपालीहरू सबै फिर्ता हुन्छन्, त्यही दिनबाट समाजवादको चरण सुरु हुनेछ ।”

त्यसका लागि पहिले कृषि क्रान्ति हुनुपर्ने र त्यपछि उत्पादनमूलुक उद्योगको विकास जरुरी रहेको बताउनुभयो । त्यसपछि गुणस्तरीय शिक्षा र स्वास्थ्य सुलभता हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र वास्तोलाले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्नेमा जोड दिँदै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.