जल/वातावरण

काठमाडौं महानगरका सातवटा वडा 'हटस्पट'- कोरोना संक्रमित सात हजार नाघे

मुलुकको केन्द्रीय राजधानी काठमाडौं अहिले कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । दैनिक थपिने कुल संक्रमितमा आधाजसो उपत्यकामा रहने गरेका छन् र हालसम्म सात हजारभन्दा बढी संक्रमित रहेका छन् ।

काठमाडौंमा दश दिनमै दोब्बरको संख्यामा संक्रमित बढेका छन् । भदौ ८ गते काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा तीन हजार ४८६ जना सङ्क्रमित थिए भने अहिले सात हजार नाघेको छ । राजधानी शहरसमेत रहेको उपत्यकामा दैनिक सङ्क्रमित थपिने करिब पाँच सय पुग्न लागेको छ ।

अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब दुई सय पुगेको छ । सङ्क्रमण समुदायमा लक्षित भएपछि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुहुने जनस्वास्थ्यविद् डा. शरद वन्तले नियन्त्रणका लागि नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मीको सहयोग आवश्यक हुने बताउनुहुन्छ ।

वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तर्गत पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् ।
काठमाडौँ महानगरभित्र करिब तीन हजार एक सय जनामा सङ्क्रमण सक्रिय रहेको महानगरपालिकाको अनुमान छ ।

काठमाडौँसहित उपत्यकाका तीन जिल्लामा सङ्क्रमण बढेसँगै उपत्यका नगरपालिका फोरमको बैठक बसी शैया व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । फोरमले प्रदेशसँगको समन्वयमा सात हजार शय्या व्यवस्थापन गर्न जुटेको काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो ।

महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै सङ्क्रमितको सम्पर्कमा आएका १९५ जनालाई पहिचान गरिएको छ । तर महानगरको उक्त प्रयास भने पर्याप्त देखिन्न ।

काठमाडौँमा मात्रै करिब छ सयभन्दा बढी लक्षणविहीन सङ्क्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा बसेका सङ्क्रमितको चिकित्सकीय परामर्श, खाद्यान्न व्यवस्थापन लगायतबारे सम्बन्धित वडाका जनप्रतिनिधिले सोधखोज गर्दै आएको महानगरको दाबी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.