राजनीति

नागरिकता विधेयक प्रमाणिकरणका लागि शितल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीले केही प्रावधानमाथि प्रश्न उठाउँदै पुनःविचार गर्न आवश्यक देखिएको भन्दै प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयकका दुबै सदनले जस्ताको तस्तै पारित गरी पुनः प्रमाणिकरणका लागि शितल निवासमा पठाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि साउन २९ गते फिर्ता भएको विधेयक दुवै सदनबाट पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाइएको हो ।

विधेयक सोमबार नै सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाइएको सापकोटाको सचिवालयले जनाएको छ ।

पहिलो पटक साउन १५ गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो । उक्त विधेयकमा भएका केही व्यवस्थामा पुनर्विचारका लागि भन्दै राष्ट्रपति भण्डारीले फिर्ता गर्नुभएको थियो ।

स्वघोषणासम्बन्धी व्यवस्था पुनर्विचारका लागि स्पष्ट रूपमा उल्लेख गरिएको थियो । प्रादेशिक पहिचान, वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्थालगायतमा पनि राष्ट्रपतिले सङ्घीय संसद्ले बनाउने पहिलो नागरिकता कानुन भएकाले स्पष्ट पारेर जान सुझाउनुभएको थियो ।

राष्ट्रपतिबाट फिर्ता आएपछि प्रतिनिधि सभाले भदौ ४ गते विधेयक बहुमतका आधारमा जस्ताको तस्तै पारित गरेको थियो ।

विधेयक पारितका क्रममा मत विभाजन भएको थियो । मत विभाजनमा बहुमतका आधारमा विधेयक पारित भएको हो । यस्तै राष्ट्रिय सभाले भदौ १७ गते पारित गरेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार एक पटक पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक पुनः पारित भई पेस भएमा १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

विधायिकालाई पुनर्विचारका लागि आएको विधेयक पूर्ववत् रूपमा वा संशोधन गरेर अघि बढ्ने दुवै सुविधा संविधानले दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.