राजनीति

कार्यदलले आज सिट बाँडफाँटको टुङ्गो लगाउला ?

पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार करिब पाँच घण्टा चलेको कार्यदलको बैठकले आज आफूलार्ई दिएको जिम्मेवारी टुङ्ग्याउन निर्णय गरेको हो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने गरी बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कार्यदलले आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउँछ र प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ । सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको छ ।”

दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने सचिव जोशीले बताउनुभयो । कार्यदलको बैठक भोलि साँझ ६ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने जनाइएको छ ।

गठबन्धनमा आबद्ध दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.