जन सरोकार

ठूलो परिमाणमा लागूऔषधसहित १५ जना पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले पाँच दिनको अवधिमा ठूलो परिणाममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।

ब्युरोले मङ्गलबार विज्ञप्ति सार्वजनिक गर्दै करिब ३० लाख बराबरको लागुऔषधसहित विभिन्न ठाउँबाट पक्राउ परेका १५ जनालाई सार्वजनिक गरेको हो ।

भदौ १६ गतेदेखि भदौ २० गतेको पाँच दिनभित्र ब्युरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय ८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताउनुभयो ।

प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा ललितपुर च्यासलका २७ वर्षीय कुमार तामाङ, ललितपुरकै २९ वर्षीय अनिस महर्जन र २७ वर्षीय धरमदेव रामलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुले लागुऔषध एम्पुलको कारोबार गरेको आरोप लगाएको छ।

त्यसैगरी प्रहरीले ललितपुरकै ३३ वर्षीय प्रताप कार्की, पाँचथरका २४ वर्षीय भुवन विक र २५ वर्षीय देङ्गहाङ्ग नेम्बाङलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइन बरामद गरेको छ।

सँगै प्रहरीले काठमाडौं गोकर्णेश्वर ९ को माकलबारीबाट काठमाडौंकै २५ वर्षीय उत्सव घिमिरे, भोजपुरका दोर्ची शेर्पा, भोजपुरका फुर्लामी शेर्पा, झापाका ३० वर्षीय अप्सरा खातुन भनिने अप्सरा राजवंशीलाई प्रहरीले लागुऔषध र नगदसहित पक्राउ गरेको हो।

त्यसै गरी प्रहरीले काभ्रेपलाञ्चोकका २८ वर्षीय मनोज राई, काठमाडौंका ३० वर्षीय अङ्कितकुमार श्रेष्ठ र काठमाडौंकै ३० वर्षीय राहुल क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो।

प्रहरीले उनीहरुको साथबाट २७५ ग्रामको खैरो हेरोइन बरामद गरेको छ। जसको बजार मूल्य २६ लाख ७५ हजार रहेको प्रहरीले बताएको छ। प्रहरीले ५० हजारको एम्पुल, ७४ हजारको गाँजासहित कुल २९ लाख ९९ हजार मूल्य बराबरको लागुऔषध बरामद गरेको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.