राजनीति

राष्ट्रपतिबाट खानेपानीसम्बन्धी विधेयक जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसै गरी प्रतिनिधिसभाको मंगलबारको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथि परेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेटघण्टी बजाई गणपूरक सङ्ख्या गणना गर्न लगाउनु हुँदा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको थियो ।

त्यसअघि मन्त्री कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालकासम्बन्धी प्रावधानका सम्बन्धमा परेको संशोधन प्रस्ताव स्वीकार गर्नुभएको थियो ।

सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । सत्तापक्ष र प्रतिपक्षले नै सो विधेयकका सम्बन्धमा आपत्ति जनाउँदै संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.