जन सरोकार

कोरोनाले रोकेन पितृप्रतिको श्रद्धा भक्तिलाई

भगवान् शिव र पार्वतीबीच केही विषयमा विवाद भएपछि मृगरुप लिई शिव भगवान् पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहनुभयो । एकाएक देवादिदेव महादेव गायब भएपछि देवताहरुमा खलबल भयो । शिव भगवान्को खोजी शुरु भयो । महादेव मृगस्थलीमा मृगको रुपमा विचरण गरेको देवताहरुले थाहा पाएपछि खोजीमा ब्रह्मा, विष्णु र इन्द्र निस्कनुभयो । मृगस्थलीमा फरक रुपमा रहेको मृग नै शिव भगवान् हुनुहुन्छ भन्ने पहिचान भएपछि समातियो । मृगको सिङमा तीन जनाले समातेपछि भगवान् अलप हुनुभयो ।

सिङ भाँचिएर तीन टुक्रा भयो । भगवान् महादेवको आज्ञा अनुसार ब्रह्माको हातको सिङलाई मत्र्यमण्डलस्थित गोकर्णमा स्थापना गर्ने आदेश भयो । यसै आदेश अनुरुप कालगणना क्रमानुसार एक अर्ब ९५ करोड वर्षअघि स्थापना भएको यसै लिङ्गलाई अहिले गोकर्णेश्वर महादेवका नाममा पूजा आराधना गरिन्छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव स्थापना भएकाले यस दिन यहाँ मेला लाग्ने परम्परा बसेको यस क्षेत्रको अध्ययन अनुसन्धानमा लाग्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउँनुहुन्छ ।

इन्द्रको हातमा रहेको सिङको टुक्रा स्वर्गमा स्थापना गरियो । विष्णुको हातमा रहेको सिङको टुक्रा पातालमा स्थापना गरियो । गोकर्णमा स्थापना गरिएको लिङ्गलाई श्रृङ्गेश्वर नामले पनि चिनिन्छ । पितृ उद्धारका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा शिव, लिङ्ग, स्कन्दलगायत पुराणमा वर्णन गरिएको यो स्थलमा भाद्रकृष्ण औँसीमा तर्पण, सिदादान र पिण्डदान गरेमा २१ पुस्ताका पितृको उद्धार हुने धार्मिक विश्वास गरिन्छ ।

भारतवर्षमा दुई गया छन् । गोकर्णेश्वर उत्तरगयालाई शिरको गया भनिन्छ । यो गया वाग्मती, सूर्यमती र चन्द्रमती सङ्गमस्थलमा छ । गयालाई पितृको मुक्तिका लागि श्राद्ध गर्ने मुख्य स्थलका रुपमा लिइन्छ । यो क्षेत्रको शिर वाग्मती उत्तरवाहिनी भएर बगेको स्थल हो भने हृदय गजाधरनारायण भगवानको मन्दिर रहेको स्थल हो । पाउ गोकर्णमुनिको हत्यामोचनघाटलाई मानिएको उहाँले सुनाउनुभयो ।

भारतको उत्तरप्रदेशमा रहेको गयामा श्राद्ध गर्न जानुअघि अनिवार्यरुपमा शिरको गया अर्थात् गोकर्णेश्वर क्षेत्रमा श्राद्ध गरेर जानुपर्छ । फल्गुनदीको किनारमा रहेको भारतको गयाका पण्डाले पनि नेपालको गया क्षेत्रमा श्राद्ध गर्नु भएको छ कि छैन ? भनी प्रश्न गर्ने गरेको पोखरेल बताउनुहुन्छ । यहाँ भगवान् विष्णुको दायाँ पादुका रहेकाले पनि यस क्षेत्रको विशेष महत्व छ । फल्गुनदी किनारमा रहेको पादुका बाँया हो ।

पितृ उद्धारको महत्वपूर्ण तीर्थ गोकर्णेश्वर उत्तरगया क्षेत्र नेपालमा पर्ने भएपनि यसको प्रचारप्रसार विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बी र विशेषगरी भारतवर्षमा हुन सकेको छैन । यही तीर्थको नामबाट गोकर्णेश्वर नगरपालिकाको नामकरण गरिएको छ । तर यसको महत्वका बारेमा प्रचारप्रसार हुन सकेको छैन । प्रचारप्रसारको अभावमा वर्षभर धार्मिक पर्यटक नआएपनि भाद्रकृष्ण औँसीका दिन भने यहाँ लाखौँको ओइरो लाग्छ । यस दिनका लागि यहाँ कसैले प्रचारप्रसार पनि गरेको हुँदैन ।

यस क्षेत्रको शास्त्रीय महत्वको प्रचारप्रसार गरे वर्षभर यहाँ पर्यटक आउँछन् । गोकर्णेश्वर महादेवको खोजीमा लाग्नुभएका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ बालयन्त्रको पूजा हुने यस स्थलको महत्व बुझाउन नसकिएको बताउनुहुन्छ । पशुपतिनाथ मन्दिरमा श्रीयन्त्रको पूजा आराधना गरिन्छ । श्रीयन्त्रको पूजा आराधना गर्नेले बालयन्त्रको पूजा आराधना हुने स्थलको दर्शन नगरी फल प्राप्त नहुने धार्मिक मान्यता छ ।

यसैलाई प्रचारप्रसार गरी पशुपतिनाथ आएको धार्मिक पर्यटकलाई गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लैजाने योजना नगरपालिकाले बनाएपनि ठोस रुपमा कार्यान्वयन हुन सकेको छैन । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना पशुपतिनाथ आएका धार्मिक पर्यटकलाई गोकर्णेश्वर लैजान विस्तृत परियोजना प्रस्ताव निर्माण भइरहेको बताउनुहुन्छ । प्रस्तावमा बन्ने योजना अनुरुप काम हुने उहाँले बताउनुभयो ।

कोरोनाले रोकिएन मेला

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायम रहेको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं. ४ कार्यालय र गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले एक साताअघि नै सूचना जारी गरेर मेला स्थगित गरिएको घोषणा गरे । विभिन्न सञ्चारमाध्यमबाट यो सूचनाको प्रचारप्रसार पनि भयो । कोरोना जोखिम फैलन सक्ने त्रासले सोमबार रातिदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । मन्दिरसँगै रहेको महानगरीय प्रहरी प्रभाग गोकर्ण मेलामा भक्तजन भेला हुन नदिन बिहान चार बजे नै नाका नाकामा पुग्यो । महानगरीय प्रहरी वृत्त बौद्धबाट सयौँको सङ्ख्यामा थप मद्दत आएपनि मेला रोकिएन ।

सनातनदेखिको परम्परा अनुसार देशका विभिन्न भागबाट हजारौँ मानिस मन्दिर क्षेत्रमा प्रवेश गरे । टाढा टाढाबाट आएका भक्तजनको अवस्थालाई ध्यान दिँदै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मेला सञ्चालन गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला सञ्चालन गरिएको भने पनि विभिन्न जिल्लाबाट बस, ट्रक, मिनीबस, माइक्रोबसलगायत साधन रिजर्भ गरेर आएका भक्तजनले मास्कसमेत लगाएका छैनन् । मेलाकै कारण जोरपाटीबाट गोकर्ण जाने सडक जाम छ । कोरोनाअघि जस्तो भक्तजन नभएपनि भीडभाड बढेको छ ।

गोकर्णेश्वर महादेव मन्दिरमाथिको वाग्मती किनारमै श्रद्धा भक्तिपूर्वक तर्पण, पिण्डदान गर्ने भक्तजनको पनि लाम छ । वाग्मती किनारको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ नयाँगाउँका कृष्णमुरारी श्रेष्ठ पिताको निधन भएदेखि भाद्रकृष्ण औँसीका दिन प्रत्येक वर्ष नदी किनारमा श्राद्ध गनुहुन्छ । यसरी कुल परम्परा अनुसार पितृप्रति श्रद्धा भक्ति प्रकट गर्नेको लाम सुन्दरीजलसम्म नै लागेको छ । तिथिका दिन विधिपूर्वक घरमै पितृप्रति श्रद्धा भक्ति प्रकट गर्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

आजको दिन गोकर्णेश्वर क्षेत्रमा गरिने दिवंगत पितृप्रतिको श्रद्धा जीवनकालमा एकपटक वैदिक सनातन धर्मावलम्बीले अनिवार्यरुपमा गर्छन् । देशभरका वैदिक सनातन धर्मावलम्बी जीवनकालमा एकपटक भाद्रकृष्ण औँसीका दिन श्राद्ध गर्न आउँछन् । पिता हुने सन्तानले भने घर घरमा मीठा मीठा खानेकुरा खान र राम्रन कपडा लगाउन दिएर श्रद्धा भक्तिपूर्वक यो पर्व मनाइरहेका छन् । जन्म दिने पितालाई देवता समान मानिन्छ । यसैले वैदिक ग्रन्थमा ‘पितृदेवो भव’ भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button