जन सरोकार

कागेश्वरी-मनोहराका ज्येष्ठ नागरिकलाई घर–घरमा स्वास्थ्य परीक्षण

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ ।

नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको एक सय दिनको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई घरघरमा निःशुल्क स्वास्थ्य परीक्षणदेखि चाडपर्व मनाउने खर्चसमेत वितरण गर्न लागिएको जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिकलाई वर्षको एकपटक विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने र आगामी दशैँ अगाडि ज्येष्ठ नागरिक चाडबाड खर्चबापत रु एक हजार उपलब्ध गराउने निर्णय गरेका छौँ”, कार्कीले भन्नुभयो ।

उहाँले मेयरसँग ज्येष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत सबै वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचका लागि वडा नम्बर–९ बाट सुरु गरिएको छ । ज्येष्ठ नागरिकलाई खाजा, ज्येष्ठ नागरिक भवन तथा ज्येष्ठ नागरिक पार्कका लागि पनि गृहकार्य सुरु गरिएको उहाँको भनाइ छ ।

सो नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने घोषणा गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको सो नगरपालिकाले १५ शय्याको नगर अस्पतालका लागि सङ्घीय सरकारबाट रु २० करोड रकम लिएर काम अघि बढाएको नगरप्रमुख कार्कीले बताउनुभयो ।

यस्तै, शिक्षातर्फ सुधारका लागि नगरशिक्षा ऐन संशोधन गरेको छ भने एक शिक्षक एक ल्यापटप अभियान सञ्चालन गरेको छ । ल्यापटप अभियानअन्तर्गत दुई सय नौ शिक्षकलाई ल्यापटप वितरण गरिएको नगरप्रमुख कार्कीको भनाइ छ ।

“सामुदायिक विद्यालयको दरबन्दी अभावको समस्या समाधानका लागि नगरपालिकाले आन्तरिक स्रोतबाटै उच्च माविमा आइसिटी र खेलकुदलगायत शिक्षक व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो । विधायनको दर्ता र नवीकरणबापतको शुल्कमा २५ प्रतिशत घटाएको नगरप्रमुख कार्कीको भनाइ छ ।

सामुदायिक विद्यालयमा इसिडी कक्षा सञ्चालनका लागि नगरपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यालय कर्मचारीलाई थप पारिश्रमिक र शिक्षकलाई दिवा खाजाको व्यवस्था गरेको जनाएको छ ।

यस्तै, नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिँदै नगरभित्रै फोहोर व्यवस्थापनको तयारी गरेको हो ।

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउनका लागि नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकता राखेर बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.