राजनीति

देशको दुर्गति हुनुको जिम्मेवारी राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । १९ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपाईंहरू त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । यसको व्यापक छलफल हुन जरुरी छ । बाटो बन्दै, कर्मचारी जाँदैनन्, साइन गर्छन् फर्किहाल्छन् ।

प्रधानमन्त्री देउवाले कर्मचारीहरू नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरूले मात्रै गरेर केही नहुने भन्दै अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको पनि बताउनुभयो ।

उहाँले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राख्नुभयो । “हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो”, उहाँले भन्नुभयो, “तर कर्मचारी (तपाई)हरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।”

उहाँले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताउनुभयो । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताउनुभयो ।

“ जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ”, उहाँले भन्नुभयो, “एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ । ”

उहाँले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताउनुभयो । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उहाँको भनाइ रहेको छ ।

मुख्य सचिव शङ्करदास बैरागीले विगतका कमिकमजोरी औल्याउँदै निजामती कर्मचारी प्रशासन अगाडि बढ्नुपर्ने बताउनुभयो । “निजामती कर्मचारी तीन तहमा राष्ट्र सेवामा समर्पित हुनुपर्दछ ।

कसैलाई पनि अल्मलिने, ढिलो गर्ने छुट छैन”, उहाँले भन्नुभयो, “कर्मचारीतन्त्र सक्षम भएर मुलुक र जनताको सेवामा काम गर्ने हो ।” उहाँले जुनस्तरमा मुलुकको विकास हुनुपर्ने हो त्यो भने हुन नसकेको भनाइ राख्नुभयो ।

सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद श्रेष्ठले समग्र प्रशासनको सुधारका लागि निजामती कर्मचारी लागेको बताउनुभयो । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले अस्थायी सरकारले स्थायी सरकारलाई हस्तक्षेप गर्दा मुलुकको विकास निर्माणमा बाधा पुगेको बताउनुभयो ।

उहाँले चार वर्षदेखि सङ्घीय निजामती ऐन अड्किएको भन्दै यसै संसद्को अधिवेशनबाट पारित गराउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा गत आर्थिक वर्षमा निजामती कर्मचारी पुरस्कारबाट सम्मानित भएकालाई यसवर्ष प्रधानमन्त्री देउवा र सामान्य प्रशासनमन्त्री श्रेष्ठले ताम्रापत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा यस वर्षको निजामती पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गरिएको थियो । प्रत्येक वर्ष दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीमध्ये एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामति कर्मचारी पुरस्कार प्रदान गर्ने गरिन्छ । यसवर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.