जापान

गल्कोट समाज जापानबाट एम्बुलेन्स किन्न ११ लाख सहयोग

गल्कोट समाज जापानले बागलुङको ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि रु ११ लाख उपलब्ध गराएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता होस् भनेर एम्बुलेन्स सहयोग गरिएको समाजका अध्यक्ष दिलु खत्रीले बताउनुभयो ।

“समयमा उपचार नपाएकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस्”, उहाँले भन्नुभयो । गत अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकम एम्बुलेन्सका लागि प्रदान गरिएको उहाँको भनाइ छ । समाजले केही वर्षअघि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि एम्बुलेन्स दिएको थियो ।

एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र दशैँ अगावै सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँपालिकासँग यसअघि भएको एम्बुलेन्स बिग्रिएर थन्किएपछि कोरोना सङ्क्रमित बोक्नसमेत भाडाको सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । हालसम्म जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै स्वामित्व र स्वव्यवस्थापनमा एम्बुलेन्स सेवा दिन सकेका छैनन् ।

अहिले पनि अस्पताल, रेडक्रसलगायत संघसंस्थाले चलाएका एम्बुलेन्सका भरमा स्थानीय तह छन् । कोरोना महामारी शुरु भएपछि सङ्क्रमित बोक्नुपर्दा एम्बुलेन्स चालक नै भाग्ने, आनाकानी गर्नेसम्मका घटना जिल्लामा भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आवमै देशभरका स्थानीय तहमा अनिवार्य एम्बुलेन्स सेवाको प्रावधान ल्याए पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन ।

मन्त्रालयको नीतिअनुसार महानगरपालिका र उपमहानगरपालिकामा चारचार, नगरपालिकामा तीन र गाउँपालिकामा दुई एम्बुलेन्स हुनुपर्छ । स्थानीय तहले एम्बुलेन्स किन्दा राजश्व छुटको सुविधा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.